ओढारमा दशवटा भैंसी पालें, दुई छोरालाई मास्टर डिग्री पढाएँ

संवाददाता
१५ पुष २०७६, मंगलवार १५:३०

बैतडी, पौष १४ गते । केटरी बोहरा आफू निरक्षर हुनुहुन्छ, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुभएको छ ।

बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ ।

निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिनुभयो । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्नुहुन्छ– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् । श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे ।’

गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।

दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुन्नुभयो । सपनाको गाँठो फुकाउँदै केटरीले भन्नुभयो, – ‘ओढारमा १० वटा भैंसी पाले । त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । छोरो अहिले शिक्षक बनेको छ ।’

उनै केटरी बोहराले घिउ बेचेर पढाएको जेठोछोरा हरिश बोहरा अहिले मास्टर डिग्री गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्छ । आमाको मेहनतले आफु अहिले एक कुशल शिक्षक बन्न पाउँदा भाग्यमानी ठानेको शेरसिंंह बोहरा बताउनुहुन्छ ।

शेरसिंह बोहराले भन्नुभयो, – म भन्दा कान्छो भाइ खड्कसिंह बोहराले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टरडिग्री सकेर घर आएको छ । मैले नेपालीमा मास्टरडिग्री गरे, भाइले अंग्रेजी विषयमा पढाई पूरा गरेको छ ।

केटरी बोहराका दुई छोरा र दुई छोरी छन् । छोरीहरुलाई पनि कक्षा ८ सम्म पढाएर पराईघर दिएको पनि एक दशक भईसकेको केटरी बोहरा बताउनुहुन्छ । त्यो बेला छोरीहरुलाई चाँडै विवाह गरेर दिने चलन थियो । कक्षा ८ मा पढ्दा पढ्दै छोरी लक्ष्मीको विवाह भयो ।

आमाले दुःख गरेर भैंसी पाल्ने ओढारमा जन्मनु भएका शेरसिंह बोहरा अहिले शिक्षाको ज्योति फैलाईरहनु भएको छ । केटरीको गाउँमा अहिले मास्टरडिग्री गरेका मात्र होईनन्, थुप्रै डाक्टर, ईन्जिनियर छन् । त्यो बेला केटरी बोहरा श्रीमानलाई चिठ्ठी लेख्न गाउँ भौतारिनु पर्दथ्यो ।

केटरी बोहरा गाउँका धेरै मेहनती आमा मध्ये एक उदाहरणी आमा रहेको भतिजा कलम बोहरा बताउनुहुन्छ । कमल बोहरा भन्नुहुन्छ – ‘काकीले अहिलेसम्म त्यो ओढार छोड्नु भएको छैन । अब त आरामा गर्नुस् भन्दा त्यो ओढार सफलताको सिंढी हो भन्नुहुन्छ । अहिले पनि ओढारमा चार वटा भैंसी पालेर भकारो सोहर्नुहुन्छ ।’

निरक्षर काकीको जोश जाँगरले घर परिवार र छिमेकीका सबैले पढाईको महत्व बुझेको कमल बोहरा बताउनुहुन्छ । राजनीतिमा सक्रिय कमल बोहरा युवा उद्यमी पनि हुनुहुन्छ ।

बोहरा भन्नुहुन्छ ‘काकीको जेठो छोरा शेरसिंह गाउँको मास्टर हुनुहुन्छ । मेरो आफ्न्र कान्छो भाइ ईन्जिनियर छ । काकी हाम्रो पनि शिक्षाको प्रेरणाको स्रोत हुनुहुन्छ ।’
ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुहुने मेहनती आमाको कथामा भएका स्थानीय रैथाने जातका भैंसी अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

भैंसीमा देखा परेको खरी रोगले बैतडीमा रहेका ५० हजार भैंसी संकटमा परेको पशु सेवा विज्ञ केन्द्र बैतडीले जानकारी दिएको छ । भैंसीमा खरी रोग लाग्ने बित्तिकै किसानले भैंसी तस्करलाई सस्तो मूल्यमा मासु प्रयोजनका लागि भैंसी बिक्रि गर्न थालेपछि बैतडीका रैथाने भैंसी संकटमा परेका छन् ।

मेहनती आमाहरुसंगै भैंसी पनि हराउने अवस्थामा पुगेकोले भैंसीपालक किसानलाई सरकारले प्रोत्साहन गर्न भैंसीमा देखा परेको खरी रोगको उपचार हुनुपर्ने भैंसी पालक किसानले बताएका छन् ।  गोरखापत्र अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*