डढुवा रोगले आलु सखाप

संवाददाता
१५ पुष २०७६, मंगलवार १५:४२

धनगढी, पुस १४ गते । कैलालीमा किसानको आलु खेती सखाप हुन थालेको छ । डढुवा रोगका कारण यस वर्ष आलु खेती सखाप हुन थालेको हो । शीतलहर चलेपछि आलुमा डढुवा रोगको प्रकोप बढेको किसानले बताएका छन् । डढुवाका कारण फूल फुल्न नपाउँदै आलु सखाप हुन थालेको उनीहरूको भनाइ छ । दुईपटक विषादी हाल्दा पनि यस वर्ष आलु खेती जोगाउन सकेन, व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका धनगढीका रतिराम चौधरीले भन्नुभयो, घाम नलाग्दा आलु पूर्ण रूपमा नष्ट भएको छ ।

डढुवाले लहलहाउँदो आलुको डाँठ सुकेर मरेको किसानले जनाएका छन् । डढुवाले आलु सखाप हुन थालेपछि कतिपय किसानले समय नपुग्दै आलु खनिसकेका छन् । अलि–अलि फलेको आलु पनि कुहिन थालेपछि खनेर निकालेको धनगढीकी अनिता विकले बताउनुभयो । लगाएको डेढ महिना पनि नपुग्दै डढुवाले मर्न थालेपछि आलु खनिसक्यौँ, उहाँले भन्नुभयो ।
केही दिन अगाडि भएको हिउँदे वर्षाले आलुसहित तोरी खेतीमा व्यापक नोक्सान गरेको किसानको भनाइ छ । उत्पादन भइसकेको आलु ओसिलो जमिनका कारण माटोभित्रै कुहिन थालेको उनीहरूले बताएका छन् ।
कैलारी गाउँपालिका–७, रतनपुरमा रहेको आलु पकेट क्षेत्रमा पनि आलु खेतीमा व्यापक नोक्सान भएको छ । सो क्षेत्रमा १५ बिघा जमिनमा थारू आलु लगाइएको छ । आलु मर्न थालेपछि किसान चिन्तित भएको वडा नम्बर ७ का वडाध्यक्ष कमल चौधरीले बताउनुभयो । धेरै किसानको आलु मरिसक्यो, कतिपयको केहीकेही बाँकी छ, उहाँले भन्नुभयो ।
किसानको खेतमा रहेको आलु खेतीमा डढुवाको प्रकोप व्यापक देखिएको कैलारी गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक मैया चौधरीले बताउनुभयो । यो वर्ष आलु अभाव हुने अवस्था देखिएको छ, उहाँले भन्नुभयो, हिउँदे वर्षा र डढुवा रोगका कारण आलु जोगिएको छैन । आलु खेती गरेका कृषक दैनिक समस्या लिएर आउने गरेको उहाँले जानकारी दिनुभयो ।
शीत (पालो)का कारण आलुमा ढुसी रोग लाग्ने गर्दछ । विशेष गरेर शीतलहर चल्ने र बाक्लो हुस्सु लाग्ने बेला रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा कम भएमा आलुमा ढुसीको प्रकोप देखापर्ने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।
आलुलाई डढुवा रोगबाट जोगाउनका लागि शीतलहर चल्नुअगावै एक÷एक हप्ता बिराएर डाइथेनियम–४५ र क्रिलोक्सिल गोल्डलगायतका विषादी हाल्न आवश्यक रहेको कृषि ज्ञान केन्द्रका रामचन्द्र भट्टले बताउनुभयो ।
कतिपय किसानको बारीको आलु पूर्ण रूपमा नष्ट भइसकेको छ । कुनै–कुनै ठाउँमा भर्खर ढुसी लाग्न सुरु भएको छ । नष्ट भइसकेकालाई जोगाउन नसकिने भए पनि भर्खर ढुसी लाग्न सुरु भएकालाई ढुसीनाशक विषादी छर्केर जोगाउन सकिने प्रादेशिक कृषि निर्देशनालय डोटीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।
आलुको बोट मर्ने बेला ढुसीनाशक विषादी छर्नु एकदमै उपयुक्त त होइन, उहाँले थप्नुभयो, तर धेरै ढिलो पनि भइसकेको छैन । भर्खर ढुसी लाग्न लागेको आलुलाई उपयुक्त तरिकाले ढुसीनाशक रसायन छर्केर किसानले जोगाउन सक्छन् ।
प्रतिलिटर पानीमा दुई ग्राम विषादी हालेर एक÷एक हप्ताको फरक तीनचोटीसम्म आलुमा विषादी छर्न कृषि प्राविधिकको सुझाव छ तर आलुको डाँठ भिज्ने गरी स्प्रे गर्नुपर्ने उनीहरूले बताएका छन् । व्यावसायिक रूपमा आलु खेती गर्ने किसानले शीतलहर सुरु हुनुअगावै ढुसीनाशक विषादी हाल्ने गरे पनि कतिपय किसानले डढुवा लागेपछि मात्रै विषादी हाल्ने गरेको कृषि प्राविधिकको भनाइ छ ।
कैलालीमा पाँच हजार हेक्टर जमिनमा आलु खेती हुने गरेको छ । यो जिल्लामा ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ ।  गोरखापत्र अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*