‘सहमतिको यौन सम्बन्धलाई पनि उचित मान्न नसकिने’

संवाददाता
१५ पुष २०७६, मंगलवार १७:४७

काठमाडौं, १५ पुस । देशको उच्चतम न्यायलय सर्वोच्च अदालतले महिलामाथि पुरुषवाट भएको बलात्कार मुद्दामा नयाँ नजिर स्थापित गरेको छ । उच्च पदीय मर्यादामा रहेका जुनसुकै व्यक्तिले तल्लो तहका कर्मचारीसँगको सहमतिको यौन सम्बन्धलाई पनि स्वतन्त्र मान्न नसकिने ठहर गर्दै नयाँ नजिर स्थापित गरेको हो ।

नेपाली सेनाका सहसेनानी भूपेन्द्र खड्का निवेदक रहेको रिट निवेदनको व्याख्या गर्दै सर्वोच्चले यस्तो सम्बन्धलाई महिलामाथि यौन शोषणकै एउटा प्रकृतिका रूपमा हेरिनुपर्ने फैसला गरेको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गत वैशाखमा गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको हो । माथिल्लो तहको कर्मचारीले आफनो पदको प्रभावमा तल्लो स्तरका कर्मचारीसँग शारीरिक सम्पर्क गर्न उनीसंग लिएको सहमति अनुचित नै हुने व्याख्यामा उल्लेख छ ।

फैसलाको पूर्ण पाठमा भनिएको छ, “आफ्नो पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहको महिला सैनिकसँग यौन सम्बन्ध राख्नका निम्ति लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने हुन्छ । अनुचित प्रभावमार्फत लिइएको सहमति प्रपञ्चकै स्वरूप मान्नुपर्छ । यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्न सकिन्न । यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रूपमा हेरिनुपर्छ । ’’

अदालतले सहसेनानीजस्तो व्यक्तिले कुचीकारका रूपमा एकै सङ्गठनभित्र सेवारत कर्मचारीसँगको पटक–पटकको यौन सम्बन्धलाई अनैतिक पनि भनेको छ । सैनिकको दायित्वमा रहेका व्यक्तिले संस्थाभित्रको अधीनस्थ तहमा कार्यरत महिला सैनिकलाई अनुचित प्रभावमा पारी ड्युटीमा रहेको स्थानमा बोलाई बारबार यौन सम्बन्ध राख्ने, गर्भधारणपछि डराइधम्काई भारतमा गर्भपतन गर्न लैजाने कार्य सैनिक अनुशासनविरुद्ध भएको पनि फैसलामा उल्लेख छ ।
निवेदक खड्काको रिटमा समरी जनरल सैनिक अदालत र सो आदेश सदर गरेको सैनिक विशेष अदालतको फैसला कानुनसम्मत भएको सर्वोच्चको निष्कर्ष छ ।

सैनिक विशेष अदालतले निवेदक खड्काले ओहदामा रहेका व्यक्तिले अनुचित कार्य गरेको भन्दै २० दिन कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने आदेश गरेको थियो । पछि सर्वोच्चले उक्त आदेश सदर गरेको हो ।

चण्डीदल गणमा कार्यरत सहसेनानी खड्काले बुटवलमा कार्यरत रहँदा काठमाडौको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा तत्काल कार्यरत सरसफाई कर्मचारी महिला सँग नैतिक मूल्य पदीय मर्यादाविपरीत अनुचित यौन सम्बन्ध कायम राखेको अभियोग लगाइएको थियो ।

खड्काले भने सहमतिमा यौन सम्बन्ध रहेको स्वीकारोक्ती गर्दै र आफूलाई उनले त्यस सम्वन्धको कारण गर्भवती भएको झुठो कुरा भन्दै व्ल्याकमेल गरेकोले आफू सेवाबाट बर्खास्त हुनु नपर्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए । सोही प्रकरणमा पिडित भनिएकी महिला सैनिक कर्मचारी पनि यस अघि नै सेवामुक्त भईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*