उपसाभामुख तुम्बाहाङ्फेले दिइन राजिनामा

संवाददाता
६ माघ २०७६, सोमबार १५:४७

प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनु भएको छ ।
नयाँ बानेश्वर स्थित संसद सचिवालयमा सोमबार दिउँसो तुम्बाहाङ्फले राजीनामा बुझाउनु भएको हो । संविधानमा उपसभामुखले सभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ । तर सभामुख पद रिक्त रहेको अवस्थामा उहाँले राजीनामा पत्रमा सभामुखलाई सम्बोधन गरेर राजीनामा दिनु भएको हो । सभामुखको अर्थ ’बैठकको अध्यक्षता’ गर्ने व्यक्ति हुन्छ । सभामुख र उपसभामुखले पदबाट दिने राजीनामा स्वीकृत वा अस्वीकृत गर्ने सम्बन्धि कुनै व्यवस्था छैन ।

राजीनामा बुझाउनु अघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताउनु भएको थियो ।

संसदमा बोल्नु हुदै उहाँले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको बताउनु भयो ।

‘एकल महिला त्यसमाथि पनि आदिवासी जनजातिका रूपमा मैले दुई वर्ष जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च निकायमा काम गर्ने मौका पाएँ त्यसलाई मैले ठूलो अवसर ठानेको छु,’ उहाँले भन्नु भयो, ’अब म फरक रूपमा क्रियाशील हुनेछु । मलाई सहयोग गर्ने माननीय सदस्यहरू र संसद सचिवालयका कर्मचारीलाई धन्यवाद ।’

अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ ।

उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछन् ।

सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*