के के छापियो आजको दैनिक पत्रिकाहरुमा

संवाददाता
९ माघ २०७६, बिहीबार ०७:२९

मेट्रो रेलको डीपीआर सम्झौत

भउचप्रसाद यादव

काठमाडौँ, माघ ९ गते । राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ ।
रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिनुभयो ।
सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्षभित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने कार्यक्रम छ । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चाप सडक यातायाले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित यो योजना अगाडि सारिएको हो ।

उपत्यकाको सडक यसै महिनाभित्र सुधार

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो ।
प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताउनुभयो । अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्र्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चार महिनामा काठमाडौँ उपत्यकाका सडकहरूको खाल्डाखुल्डी पुर्न भन्नुभएको थियो । निर्देशनबमोजिम सम्बन्धित निकायहरूसँग समन्वय गरी काम अगाडि बढाउन सो ‘टास्क फोर्स’ गठन गरिएको हो ।

सर्वसाधारणको पहुँचले बढे भ्रष्टाचारका उजुरी

काठमाडौँ, माघ ९ गते । स्थानीय तहमा सर्वसाधारणको पहुँच सजिलै हुने भएकाले भ्रष्टाचारका घटना बाहिर आउन थालेको बताइएको छ । जनतामा आफूले तिरेको राजस्वको सही सदुपयोग र आर्थिक अनियमितता नहोस् भन्ने पक्षमा जनसाधारण सचेत बन्दै गएकाले यस्तो अवस्था आउन थालेको सम्बन्धित क्षेत्रका जानकारहरूको भनाइ छ ।
बितेका केही समययता अख्तियारमा पनि स्थानीयस्तरमा भएका भ्रष्टाचार घटनाका उजुरीको चाङ लाग्ने गरेको जनाइएको छ । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पनि स्थानीय तहमा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक भएको छ । निर्वाचनपछि स्थानीय तहले सरकारकै स्वरूपमा रूपान्तरण भई सबै किसिमका विकासनिर्माण तथा सबै खालका गतिविधिमा सर्वसाधारणको पहुँच अभिवृद्धि भएकाले त्यहाँभित्र देखिएका विकृति र अनियमितता बाहिर आएको स्थानीय तहका जनप्रतिनिधिको ठहर छ ।

सी चिनफिङको किताब सार्वजनिक गर्दै नेकपा नेताले भने, ‘एमसीसीको डीपीआर चाहियो’

काठमाडौँ — अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण सार्वजनिक गरेपनि सत्तारुढ दल नेकपाका स्थायी समितिका नेताहरुले झन् शंकास्पद दृष्टिले हेरेका छन् ।

पार्टीको बैठकमै चर्को कुरा उठाउने नेताहरुले बुधबार चीनका राष्ट्रपति सी चिनफिङको भाषण संग्रह सार्वजनिक गर्न राजधानीमा आयोजित पुष्पलाल मित्राता केन्द्रद्वारा आयोजित कार्यक्रमबाट अब एमसीसी अन्तर्गत सञ्चालित हुने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

स्थायी समिति सदस्य लिलामणी पोखरेल, मुकुन्द न्यौपाने, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले दूतावासको स्पष्टीकरणको भरमा मात्र एमसीसीलाई संसदबाट अनुमोदनको प्रक्रियामा लैजान नसकिने टिप्पणी गरे। चीनतर्फबाट आउने रेललाई रोक्न अमेरिकाले ट्रान्समिसन लाइन बनाउने रुट नुवाकोटबाट हेटौंडा, तनहुँ, पाल्पा हुँदै बुटवलको रुट रोजेको उनीहरुको आरोप छ ।

सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

काठमाडौँ — सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् ।

सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि द्वन्द्वकालीन समयमा व्यक्ति हत्याको आरोपी भन्दै विरोध भइरहँदा बुधबार दाहालको उक्त भनाइ आएको हो। दाहालले सभामुखका एकल उम्मेदवार सापकोटाको विषयमा आन्दोलन गरेर दुःख नगर्न आग्रह गरेका हुन्।

खुमलटारस्थित निवासमा दाहालले सभामुखमा सापकोटालाई प्रतिपक्ष र सत्तापक्षले स्वीकार गरेको बताएका हुन्। ‘सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न,’ उनको आग्रह थियो। ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिइसक्यो। अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा,’ दाहालले भने।

नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा उक्त विषयमा आन्दोलन आवश्यक नभएको दाहालको भनाइ थियो।

सापकोटाका विरुद्धमा कुनै मुद्दा नभएको समेत दाहालले बताए। ‘उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौँ। हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिं
गो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरूले दुःख नगरे हुन्थ्यो,’ उनले भने ।

 

दीपक मनाङेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङको उजुरी

बुधबार, ०८ माघ २०७६, 

पोखरा- प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेबाट कुटिएका कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार प्रहरीमा जाहेरी दिएका छन्। उनले आफूमाथि योजनाबद्ध ढंगले प्रदेश सांसद गुरुङले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी हालेका हुन्। जाहेरीमा उनले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम चलिरहँदा प्रदेश सांसद गुरुङले कुटपिट गरेको उल्लेख गरेका छन्।

एन्फा कास्की अध्यक्ष गुरुङले आफ्नो सुरक्षाकोसमेत माग गरेका छन्। प्रतियोगिता चलिरहँदा मैदानमै कुटपिट भएको र फेरिपनि यस्तो घट्ना हुनसक्ने भएकाले आफ्नो जिउधनको सुरक्षा गरिदिनसमेत प्रहरीलाई आग्रह गरेका छन्। साथै उनले बल र दम्भको आड प्रयोग गरी कुटपिट गर्नु फौजदारी संहिता २०७४ को दफा ११८ बिपरितको कार्य भएकाले दोषी प्रदेश सांसद दीपक मनाङेलाई पक्राउ गरी प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरेका छन्।

किसानको रकम भुक्तानी नगर्ने उखु मिलको कारोबार रोक्का हुने

काठमाडौं-  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ।

मन्त्रालयले गत पुष १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको बताए। उनले सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने बताए। उनले ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत बताए। प्रवक्ता भट्टराईका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा आएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*