गोष्ठीमा गएकी उपमेयर अमेरिकामै लुकिन्

संवाददाता
९ माघ २०७६, बिहीबार १४:०६

९ माघ २०७६, बिहीबार

भ्रमणका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्क्विहीन’ भएकी छन् । नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी नेपालीले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले बाह्रखरीलाई जानकारी दिए । “नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको बुझेको छु । उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि भयो । त्यसपछि उहाँ फर्कनुभएको छैन,” उनले भने ।

अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ । अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ । “उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको हो, त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न,” शाहीले भने ।

उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाही बताउँछन् । ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको शाहीको भनाइ छ ।

“सेवाग्राही आएर उपमेयरबारे सोधखोज गर्नुहुन्छ, सञ्चारकर्मीले पनि मलाई नै प्रश्न गर्नुहुन्छ । अमेरिका भ्रमणमा जान्छु भनेपछि नजानुस् भन्ने कुरा पनि आएन,” मेयर शाही थप्छन् । नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले पनि दन्ता नेपाली (दर्शना) अमेरिका गएको स्वीकार गरे ।

“संघले नै आयोजना गरेको कार्यक्रम त थिएन त्यो, आईसीएमए अर्थात् इनटरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका जानुभएको हो,” उनले पुष्टि गरे । त्यसपछि फर्किए, नफर्किएकोबारे आफूलाई थाहा नभएको धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका ब्याञ्जु बताउँछन् । “उहाँ सम्पर्क्विहीन भएको बारे धेरै मलाई थाहा छैन,” उनको भनाइ छ ।

२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वा्चित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्रबाटै उमेदवार भइ निर्वा्चित हुन् । बाह्रखरी डटकमबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*