अग्नि सापकाेटालाई पक्राउ गर्न सर्वाेच्चमा रिट

संवाददाता
१० माघ २०७६, शुक्रबार १५:३०

काठमाण्डौ – नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै शुक्रबार सर्वाेच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी दिनेश त्रिपाठीले सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गर्नु भएको हो ।
रिटमा सापकोटालाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ ।

रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न पनि माग गरिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ । आफैँले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको प्याकुरेलले बताउनुभयो ।

सर्वोच्चमा रिट विचाराधीन रहेकै अवस्थामा सापकोटालाई सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गर्नु भएको छ । सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ ।

द्वन्द्वकालीन अवस्थामा लामाको हत्या प्रकरणमा संलग्न भएको भन्दै मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिनुभएको थियो। लामाको जाहेरीअनुसार सापकोटालाई काभ्रे प्रहरीले बयानका लागि बोलाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*