राष्ट्रघात हुने कुनै पनि सम्झौता अघि बढ्दैन : सभामुख

पार्टीको कार्यदलले एमसीसीको डकुमेन्टको अध्ययन थालेको छ : कार्यदलका सदस्य रावल
संवाददाता
२६ माघ २०७६, आईतवार ०७:००

काठमाडौँ , माघ २६ गते । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संघीय संसदबाट पारित गर्ने/नगर्ने विषयमा सत्तारूढ नेकपाभित्र अझै एक मत हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा नेकपाका नेताहरूको फरक फरक अभिव्यक्ति सार्वजनिक रूपमै आउने क्रम जारी छ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रघात हुने सम्झौता संसद्‍मा अघि नबढाउने बताएका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आफ्नो सम्मानमा शनिबार आयोजित कार्यक्रममा उनले मुलुकको अहित हुने कुनै पनि सम्झौता अघि नबढाउने बताएका हुन् । उनले संसद्‍मा धेरै विधेयक र सन्धि सम्झौता पारित गर्नुपर्ने प्रक्रियामा रहेको बताए ।
सरकारले गत असारमै एमसीसीसँगको सम्झौता अनुमोदन गर्न संसद्‍मा पेस गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रस्ताव अघि नबढाएकाले अघिल्लो संसद् अधिवेशनमा सम्झौता अनुमोदन हुन सकेन । त्यतिबेला संसद् सचिवालयले सांसदहरूलाई अध्ययनका लागि एमसीसी सम्झौताको कपी वितरण गरे पनि महराले अघि नबढाएकै कारण त्यसमा सदनमा छलफलको प्रक्रियासमेत सुरु भएन ।

प्रधानमन्त्री केपी ओलीले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामै तत्कालीन सभामुख महराले एमसीसी पारित गर्न असहयोग गरेको टिप्पणीसमेत गरेका थिए । महरा बलात्कार प्रयास अभियोग लागेर सभामुखबाट बाहिरिइसकेपछि प्रधानमन्त्रीले उनको असहयोगबारेमा टिप्पणी गरेका हुन् । नेकपाका सचेतक देवप्रसाद गुरुङसहितका सांसदहरूले प्रतिनिधिसभामा एमसीसीमा उल्लिखित प्रावधानको आलोचना गरेका थिए । नेकपाको पूर्वमाओवादी खेमाबाटै आलोचना सुरु भएपछि महराले त्यतिबेला उक्त सम्झौता अनुमोदनका लागि प्रक्रिया नै अघि बढाएनन् । एमसीसी पारित गर्न असहयोग गरेकै कारण तत्कालीन सभामुख महराप्रति प्रधानमन्त्री ओली असन्तुष्ट थिए ।

प्रधानमन्त्री ओलीले दुई साताअघि प्रतिनिधिसभामा बोल्दै एमसीसी प्रस्ताव संसदबाट तत्काल पारित गर्नुपर्ने बताएका थिए । ओलीले गत १४ गते सभामुख सापकोटालाई बधाई दिने क्रममा एमसीसी सम्झौता तत्काल संसद्‍बाट पारित गराउनुपर्ने बताएका हुन् । सापकोटाले सभामुखको पदबहालीलगत्तै आफ्नै कार्यकक्षमा संवाददातासँग भनेका थिए, ‘एमसीसीको विषयमा हतारिनुपर्ने अवस्था छैन ।’ प्रस्ट बहुमत भएको सरकारले एमसीसी पारित गराउन खोजे सभामुख एक्लैले मात्र अड्काइराख्न नसक्ने संसद् सचिवालयकै बताउँछन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीमात्र होइन अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत एमसीसी पारित गराउने पक्षमा उभिएका छन् । उनले कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार राजधानीमा आयोजित कान्तिपुर कन्क्लेभमा बोल्दै आफू एमसीसीको विपक्षमा नरहेको धारणा राखेका छन् । उनले एमसीसी संसद्‍बाट जस्ताको तस्तै पारित हुन्छ कि हुँदैन भन्ने प्रश्नको प्रस्ट जवाफ भने दिएनन् । उनले केन्द्रीय समितिको बैठकमा एमसीसीको विषयमा प्रश्‍न उठेकाले पार्टी प्रस्ट हुन खोजेको बताए ।

प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा एमसीसीलाई तत्काल पारित गर्नुपर्ने धारमा प्रस्ट देखिएका छन् । नेकपाका धेरै नेता भने खुलेर यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छन् । देउवाले सभामुखमा सापकोटालाई बधाई दिने क्रममा प्रतिनिधिसभामा बोल्दै एमसीसीलाई अमेरिकी सैनिक रणनीतिसित जोड्न नहुने र संसद्‍बाट तत्काल पारित गराउनुपर्ने बताएका थिए । नेकपामा एमसीसीविरुद्धको मत सशक्त रूपमा उठिरहेका कारण दाहालले त्यसको दबाबलाई सहजै इन्कार गर्न नसेकेको पार्टीकै नेता बताउँछन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, खनाल र रावलले एमसीसी जस्ताको तस्तै पारित गराउन नहुने अडान राख्दै आएका छन् । कार्यदलका सदस्य ज्ञवालीबाहेक संयोजक खनाल र अर्का सदस्य रावल एमसीसीविरुद्ध बोल्ने नेताका रूपमा चिनिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*