सशर्त अनुदानबाट कर्मचारी नियुक्त गर्दै गाउँपालिका

संवाददाता
२६ माघ २०७६, आईतवार ०८:२३

ताप्लेजुङ, माघ २६ गते । सिरीजंघा गाउँपालिकाले संघीय सरकारले दिएको सशर्त अनुदानको रकमबाट तलबभत्ता खुवाउने गरि करारमा कर्मचारी नियुक्त गर्ने भएको छ ।
सशर्त अन्र्तगत गाउँपालिकालाई प्राप्त रकम स्वास्थ्यको पूर्वाधार निर्माण जनचेतना अभिवृद्धि, स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता विकास, स्वास्थ खानेपानी, सरसफाई लगायत अन्य काममा खर्चनु पर्दथ्यो तर सरकारले स्वास्थ्यका कर्मचारी पठाउन नसकेपछि र स्वास्थ्य संस्थाहरू खाली भएपछि बाध्य हुनुपरेको गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङले बताउनु भयो । ‘गाउँपालिकाको कार्यालयसँगै जोडिएको प्राथमिक स्वाथ्य केन्द्र छ, दरबन्दी पनि छ तर डाक्टर छैन,’स्वास्थ्यको अवस्था दर्दनाक देखिएकोले यस्तो निर्णय गर्नु परेको गुरुङको दाबी छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम तोकिएको क्षेत्र र क्रियाकलापमा मात्र खर्च सकिने व्यवस्था सहित अर्थ मन्त्रालयले कार्यविधि नै बनाएको छ । कार्यविधि विपरित गाउँपालिकाले उक्त अनुदान रकम खर्च गर्न लागेको हो ।
सात वटा वडा रहेको गाउँपालिकामा एकजना डाक्टर सहित ४६ जनाको दरवन्दी भए पनि नौजना मात्रै स्वास्थ्यकर्मी रहेकोले जनता आधारभुत स्वास्थ्य सुविधाबाट बन्चित हुने अवस्था आएकाले आफ्ना लागि नभई यो निर्णय जनताका लागि गरिएको गुरुङले बताउनु भयो ।
गाउँपालिकाले एकजना डाक्टरसहित स्टाफ नर्स, एचए, अहेव र अनमी गरी २३ जनाका लागि बिज्ञापन आह्वान गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय, करारमा कर्मचारी नियुक्त गर्न सक्ने लगायत यसमा आकर्षित हुने ऐन कानुनलाई समेत आधार मानेर निर्णय गरिएको छ । पालिकामा आन्तरिक आम्दानी नभएकाले केन्द्रको बजेट खर्चनुपरेको उनको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*