देउमाई नगरपालिका र साना सिंचाई कार्यक्रम बिच समझदारी पत्रमा हस्ताक्षर

संवाददाता
२९ माघ २०७६, बुधबार १६:३६

इलाम, माघ २९ गते । देउमाई नगरपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता (PMISC) बीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । देउमाई नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद पोख्रेलको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहाल र साना सिंचाई कार्यक्रमका फिक्कल क्लष्टर संयोजक केशब लामा बीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर पछि नगरप्रमुख पोख्रेलले कार्यक्रमको लक्ष्य उद्देश्य र नगरको प्राथमिकता अनुरुप विपन्न वर्गका कृषकहरुको रोजगारी र कृषि आयमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । हाम्रो नगरपालिकामा सिंचाई गर्नका लागि प्रशस्त पानीका स्रोतहरु रहेका छन, यसलाई सिंचाई प्रणालीको माध्यामबाट प्रयोग गर्न सके स्थानीय समुदायको जिवनस्तरमा सुधार हुने नगरप्रमुख पोख्रेलले बताउनु भयो ।
विपन्न वर्गका कृषकहरुको कृषि आयमा वृद्धि गरि गरिवी न्युनिकरण गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको संयोजक लामाले बताउनु भयो । देउमाई नगरपालिकाका विभिन्न वडाहरुबाट माग भई आएका साना सिंचाई योजनाहरु मध्ये साना सिंचाई कार्यक्रमको योजना छनौंटका मूख्य आधारहरु पानीको स्रोतको उपलब्धता, सिंञ्चित हुने जग्गाको क्षेत्रफल, बजारको पहुँच र विपन्न तथा सुविधा बञ्चित समुदायको अवस्था समेतलाई अध्ययन गरि यस आर्थिक वर्षमा तिनवटा योजना सञ्चालन हुने उहाँले बताउनु भयो ।
देउमाई नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रेम प्रसाद दाहालले कार्यक्रम अन्तर्गत संचालन हुने सिंचाई योजनाहरु निधारित मापदण्ड अनुरप गुणस्तरी संरचना निर्माण हुने विश्वास व्यक्त गर्नु भयो ।
उक्त तिन वटै सिंचाई योजनाहरुको भेरिफिकेसन र विस्तृत सर्वेक्षण पुरा गरि परियोजना तयारी प्रतिवेदन (PPR) निर्माण अन्तिम चरणमा रहेको सिंचाई इन्जिनियर कैलाश चौधारीले बताउनु भयो ।
कार्यक्रम इलामका सात वटा स्थानीय तह चुलाचुली, रोङ, माङसेबुङ, सन्दकपुर, इलाम, देउमाई र सूर्योदयमा तथा पाँचथरको दुईवटा मिक्लाजुङ र फिदिम नगरपालिका गरि नौ वटा तहमा सञ्चालन हुनेछ । स्विट्जरल्यण्ड सरकारको ४० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत, स्थानिय सरकारको २० प्रतिशत र लाभान्वित समुदायको १० प्रतिशत वित्तिय साझेदारीमा कार्यक्रम संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*