अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगे नेपाली युवा दिवेश पोखरेल

दुई क्लासिक गीत गाएर नोस्टाल्जिक बनाए दिवेशले
संवाददाता
३० बैशाख २०७७, मंगलवार ०७:५०

‘अमेरिकन आइडल’ को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेलले ‘उत्कृष्ट सात’ सम्मको यात्रा तय गर्दा दुईवटा क्लासिक गीत गाएका थिए। तीमध्ये एउटा सन् १९७१ को थियो भने अर्को १९८९ को।

‘अर्थर गन’ नामबाट प्रतिस्पर्धा गरिरहेका २१ वर्षीय दिवेशले ‘टप-१०’ को यात्रामा सन् १९७१ मा सार्वजनिक जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ गाएका थिए। उनले यो गीत आफ्ना लागि मात्र नभएर संसारका धेरै मान्छेका लागि यो समय उपयुक्त हुने बताएका छन्।

आजभन्दा झन्डै ५० वर्षअघिको यो गीत बिल ड्यानोफ, ट्याफी निवर्ट र गायक जोन डेन्भरले मिलेर लेखेका हुन्। यो गीत त्यो बेला यति चर्चित भयो, पछि डेन्भरको परिचय नै यसैमा जोडियो।

वेस्ट भर्जिनियालाई स्वर्ग मानिएको भावको यो गीतको चर्चा आज पनि मेटिएको छैन। सन् २०१४ मा यो गीतलाई वेस्ट भर्जिनियाको राज्य-गानमा समावेश गरियो। योसहित वेस्ट भर्जिनियामा चार आधिकारिक राज्य-गीत छन्। वेस्ट भर्जिनियामा आधारित भए पनि आफ्नो ठाउँबाट टाढा भएका सबैलाई गीतले ‘नोस्टाल्जिक’ बनाउने दिवेशको भनाइ छ।

त्यस्तै, उनले ‘उत्कृष्ट सात’ को प्रतिस्पर्धामा गाएको दोस्रो क्लासिक गीत ‘किस द गर्ल’ हो। एलान मेनकनको शब्द, होवार्ड एस म्यानको संगीत र स्यामुअल इ. राइटको गायन रहेको यो गीतले उनलाई अमेरिकन आइडलको ‘टप-७’ मा पुर्‍याएको छ। यो गीत एनिमेटेड फिल्म ‘द लिटल मर्मेड’ को हो जसको पहिलो संस्करण करिब तीस वर्षअगाडि रिलिज भएको थियो।

यो गीत पनि फिल्मसँगै सर्वप्रथम सन् १९८९ मा रिलिज भएको थियो। पछि फिल्म ‘रिमेक’ हुँदै आउँदा यसलाई विभिन्न गायकले गाए। गीतको सार यस्तो छ-

ऊ उभिएकी छे,

सडकपारि

चुपचाप

केही त छ उसमा

तर थाहा छैन

बुझ्ने कोशिस गर्दैछु

उसलाई

चुम्ने कोशिस गर्दैछु….

गायन प्रतियोगिता कार्यक्रम ‘अमेरिकन आइडल’ संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।

यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडल दिवेशको सहभागितासँगै नेपालीहरूका लागि खास बनेको छ। कोरोना भाइरसको त्रासमाझ जारी कार्यक्रममा घरबाटै भिडिओ अडिसन गरिएको छ।

दिवेश अमेरिकन आइडलमा सुरूदेखि नै चर्चामा थिए। स्टेजमा नमस्कार गर्दै पुगेका उनले जजहरूको ध्यान खिच्न सफल भएका थिए। क्रमशः उनको गायनमा पनि निकै सुधार देखिएको छ। सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*