फुङलिङ नगरपालिकामा भ्रष्टाचारको गन्ध

नगरप्रमुख र वडाध्यक्षबीच खटपट
संवाददाता
२३ जेष्ठ २०७७, शुक्रबार १८:५७

ताप्लेजुङ, जेठ २३ गते ।

चालू आव ०७६-७७ को विनियोजित बजेट शीर्षकअनुसार खर्च भए-नभएको विबादमा भ्रष्टाचारको शंका गरिएको छ । शीर्षकबमोजिमको बजेट विषयमा फुङलिङ नगरपालिकाका जनप्रतिनिधि दुई कित्तामा विभाजित भएका छन् । नगरप्रमुख छत्रपति प्याकुरेल र वडाध्यक्ष दुई समूहमा विभाजित भएका हुन् । विभाजनसँगै खटपट सुरु भएको हो । नगरप्रमुखसहित उपप्रमुख बमबहादुर भट्टराई (तारा) र केही वडाध्यक्ष र बाँकी वडाध्यक्षको समूह पटकपटक छुट्टाछुट्टै बैठक बसेका छन् । शीर्षकअनुसारको (भ्रमण र इन्धन खर्च) खर्च सार्वजनिक गर्नुपर्ने र वडाध्यक्षले पाएको जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न पाउनुपर्ने माग नै विवादको कारण बनेको हो ।

नगरपालिकामा १० वटा विषययत समितिका संयोजक तथा सदस्यले जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्न सकेका छैनन् । चिया गफदेखि सभासम्मेलनमा समेत विषयगत समितिका संयोजकले हैसियत अनुसारको भूमिका निर्वाह गर्न चुकेको भनी चर्को आलोचना हुँदै आएको थियो । समितिको संयोजक तथा सदस्यको जिम्मेवारी पाएका कतिपय जनप्रतिनिधि स्यवंले नै आफूहरूको कमजोरी स्वीकार गरेका छन् । चौतर्फी आलोचनाकै कारण पाएको जिम्मेवारीअनुसारको कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएर एकजुट भएसँगै नगर प्रमुखसहितको समूह रुष्ट बनेको हो ।

नगरप्रमुखको आह्वानमा नगरपालिकाभित्रका ११ वटा वडाका वडाध्यक्षमध्ये नेपाली कांग्रेसका ५ जना वडाध्यक्षबाहेकका वडाध्यक्ष र कार्यपालिका सदस्यको बुधबार बैठक बसेको थियो ।

अब पनि आफूहरूको काममा हस्तक्षेप गरे स्वीकार गर्न नसकिने फुङलिङ नगरपालिका–८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले बताए । सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष पालुङ्वाका अनुसार विगतमा आफूहरू चुकेको भए पनि अब गल्ती नदो¥याउने विषयमा एकजुट हुँदा विवाद बढेको हो । पालुङ्वाले भने, “चालू आव ०७६-७७ को विनियोजित बजेट शीर्षकअनुसार भए-नभएको समीक्षामार्फत पारदर्शी गरेर सार्वजनिक गरौं । अनि आगामी आव ०७७-७८ को बजेटको होमवर्क सुरु गरौं भन्ने माग हो ।” चालू आवमा राजस्व बाँडफाँडको बजेट छलफल नै नगरी किताबमा छापिएको थियो । विवादका कारण आगामी आव ०७७-७८ को नीति, बजेट तथा कार्यक्रममा समेत वडाध्यक्षहरूको सहभागिता हुने-नहुने अन्योल बढेको छ । नगरप्रमुखको आह्वानमा नगरपालिकाभित्रका ११ वटा वडाका वडाध्यक्षमध्ये नेपाली कांग्रेसका ५ जना वडाध्यक्षबाहेकका वडाध्यक्ष र कार्यपालिका सदस्यको बुधबार बैठक बसेको थियो । वडा नं. १ का वडाध्यक्ष पदम सुनुवारका अनुसार नगरप्रमुख र उपप्रमुखसहित नेकपाबाट जितेका वडाध्यक्ष र कार्यपालिका सदस्यको बैठक थियो । वडाध्यक्ष सुनुवारले भने, “आन्तरिक छलफल भनौं या बैठक । विविध विषयमा छलफल चल्यो ।”

नगरप्रमुख प्याकुरेलले आफूविरुद्धका वडाध्यक्षलाई हटाएर आमन्त्रित ८ जना कार्यपालिका सदस्यमध्ये केहीलाई विषयगत समितिको संयोजक बनाउने आश्वासनसमेत दिएका छन् । कार्यपालिका बैठकको निर्णय पुस्तिकामा उपस्थितिको हस्ताक्षर गरेको तर निर्णयको अन्त्यमा (क्लोजिङ) हस्ताक्षर नगरेकाले कतिपय निर्णय थपिएको हुनसक्ने आशंका गरेका छन् । नाम नखुलाउने सर्तमा वडाध्यक्षले दिएको जानकारी अनुसार हस्ताक्षर गरिएको भन्दै थपिएका कैयांै निर्णय छन् । तथापि निर्णयको फोटोकपी वडाध्यक्षलाई नै दिएका छैनन् । जुन ३ दिनभित्र दिनुपर्ने वडाध्यक्षको तर्क छ ।

नगरप्रमुख प्याकुरेलले भने, “कोही वडाध्यक्ष मादक पदार्थ सेवन गरेर झगडा गर्छन् । बाँकी कुरा मलाई थाहा छैन ।”

नगर कार्यपालिकाको बैठकको निर्णय बिना कपितय रकम रकमान्तर गरिएको छ । जबकि पुँजीगत बजेटको पूरै रकम रकमान्तर गर्न पाइँदैन । नगरप्रमुख प्याकुरेलले आफूविरुद्धका वडाध्यक्षसँग प्रतिकार गर्न नगरपालिकाकै कर्मचारी परिचालन गर्न खोजेको वडाध्यक्षको दाबी छ । असुरक्षित रहेको भनेर नगरपालिका कार्यालय नै तालाबन्दी गर्न योजना बनाएर कर्मचारीलाई उचालेको तर कर्मचारीले अस्वीकार गरेको दाबी गरिएको छ । तर नगरपालिका प्रमुख प्याकुरेलले आफू र वडाध्यक्षबीच कुनै विवाद नभएको दाबी गरे । नगरभित्रको प्रोपोगाण्डाबारे आफूलाई कुनै जानकारी नै नभएको उनले प्रतिक्रिया दिए । नगरप्रमुख प्याकुरेलले भने, “कोही वडाध्यक्ष मादक पदार्थ सेवन गरेर झगडा गर्छन् । बाँकी कुरा मलाई थाहा छैन ।”

नगरप्रमुख पार्टी सदस्य नै पर्याप्त भएको भन्दै पार्टी एकीकरणदेखि पद बाँडफाँडका बेला जिल्ला सदस्यसमेत बनाएको थिएन ।

चालु आव ०७६-७७ मा संघबाट प्राप्त राजस्व बाँडफाँडतर्फ चालू बजेट ७ करोड ७८ लाख थियो । राजस्व बाँडफाँडतर्फ चालू बजेटबाट ४१ लाख र प्रदेशको राजस्व बाँडफाँड चालू खर्चको ४ लाख गरी ४५ लाख रुपैयाँ भ्रमण खर्च शीर्षकमा विनियोजन गरिएको थियो । पदाधिकारीका लागि १२ लाख र कार्यालय प्रयोजनका लागि १० लाख गरी २२ लाख विनियोजन गरिएको छ । सवारी साधन मर्मत खर्चवापत २० लाख छुट्याइएको छ । मसलन्द तथा कार्यालय सामग्री खरिदका लागि ३२ लाख विनियोजन गरिएको छ । जबकि यो शीर्षकअन्तर्गत एउटा वडाले वार्षिक २० हजारभन्दा बढीको स्टेसनरी तथा कापी र कलम लगेका छैनन् । यदि ११ वटा वडालाई वडापिच्छे ५० हजारका दरले सामग्री उपलब्ध गराएमा पनि साढे २५ लाख रुपैयाँ नगरपालिकामै खर्च गर्नुपर्ने देखिन्छ ।
एकातिर शीर्षकअनुसारको विनियोजित बजेटको पारदर्शितामाथि चौतर्फी प्रश्न उब्जिएका बेला शीर्षकअनुसारको खर्च सार्वजनिक गरेपछि मात्र टुंगो लाग्नेमा शंका छ । शीर्षकअनुसारको (संघ) ७ करोड ७८ लाख रुपैयाँ खर्च भए-नभएको विवरण सार्वजनिक गर्नुपर्ने नगर सरकारको काँधमा छ । यद्यपि ३ करोड रुपैयाँ आउन बाँकी नै रहेको नगरउपप्रमुख भट्टराईले जानकारी दिए । अर्कोतिर नेकपा पार्टीभित्र नगरप्रमुख प्याकुरेललाई गर्ने व्यवहार प्रतिपक्षी दलको जस्तो छ । पार्टीको निर्देशन पालना गर्न र पार्टीले बोलाएको महत्वपूर्ण छलफलमा समेत सहभागी हुँदैनन् । नगरप्रमुख पार्टी सदस्य नै पर्याप्त भएको भन्दै पार्टी एकीकरणदेखि पद बाँडफाँडका बेला जिल्ला सदस्यसमेत बनाएको थिएन । स्रोतः कारोबार दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*