सडक सञ्जाल जोडिए संगै पर्यटकीय आवासहरु विस्थापित हुदै

संवाददाता
३० कार्तिक २०७७, आईतवार १६:११

ताप्लेजुङ, ३० कार्तिक ।
केहि वर्ष अगाडी पर्यटकको खचाखच हुने ताप्लेजुङको पदमार्गहरुमा अहिले चारैतिर सडक संञ्जालले जोडिएसंगै पदमार्गहरुमा पर्यटन आवसका लागि विस्तार भएको वस्तीहरु विस्थापित हुदै जाने क्रम बढिरहेको छ ।
ताप्लेजुङको पmुङलिङ नगरपालिका– ११, लालीखर्कका राजकुमार विष्ट अहिले लगभग ३५ वर्ष पुगे उनलाई सामान्य होटलमा बच्चा हुँदादेखि कञ्चनजंघा हिमाल हेर्न जाने पर्यटकहरु आएर बस्ने गरेको सम्झना छ । उहाँ बताउनुहुन्छ “ लगभग मेरो बाजे, बाबाले गरेको पेशा हो यो क्षेत्रको होटल व्यवसाय यहीबाट त्यतिखेर उनीहरुको जिवीकोपार्जन हुन्थ्यो भने बालबच्चालाई राम्रो शिक्षा र उचित रहनसहन र लत्ताकपडाको व्यवस्था हुने गर्दथ्यो । “उनको अनुमानमा परिवारले यस क्षेत्रमा पर्यटकहरुको सेवामा लगभग ४० वर्ष सम्म गुजारी सकेका छन् ।
अहिले उनका बुवाआमा उमेरले पाका भइसकेका छन् । अवको जिम्मेवारी राजकुमारको काँधमा आएको छ । उनले पनि ५÷७ वर्ष अगाडीसम्म राम्रै आम्दानी गरिरहेको थियो । होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा उहाँ छन् । उनलाई अहिले कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ । वैकल्पिक रुपमा अन्य कुनै व्यवसाय पनि गर्न सकिने अवस्था नरहेकोले सो स्थानमा बसेर जीविकोपार्जन गर्न निकै कठिन रहेको उनी बताउँछन् ।
लालीखर्क ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ११ मा रहेको सुन्दर एक बस्ती हो । समुन्द्री सतहबाट २ हजार २ सय मिटरको उचाईमा अवस्थित यो स्थान सुकेटार विमास्थलबाट मात्रै करिव ३ घण्टाको पैदल दुरीमा रहेको छ । नेपाल सरकारले तोकेको कञ्चनजंघा साउथ बेसक्याम्पको बाटो अन्तर्गतको पहिलो क्यापको रुपमा रहेको यो स्थानमा एक दशक अघि देखि नै विदेशी पर्यटकहरुको ओइरो लाग्ने गर्दथ्यो ।
पर्यटकहरु बास बस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्थे र स्थानीय रुपमा उत्पादन भएका खाद्यवस्तुहरु मूल्य तिरेर मिठो मानेर खान्थे । नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवातजावत भएपछि त्यस क्षेत्रको चेतना स्तरमा समेत विकास भएको पाइन्छ ।
कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्याङकमा यस क्षेत्रमा आजभन्दा १०÷१५ वर्ष अगाडि औसतमा वाषिैक ७०० जना पर्यटकहरु आउँथे भने अधिकांसले कञ्चनजंघाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कने गर्दथ्यो । यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोला तर्फबाट फर्कन्थे भने तमोरखोला तर्फबाट जाने पर्यटक यहि बाटो भएर फर्कन्थे ।
१२ घर जति रहेको यो स्थानमा अहिले ४ घर मात्रै छन् । प्राय शुरुदेखि यो स्थानमा व्यवसाय गर्ने मानिसहरुले अहिले लालीखर्क छाडिसकेका छन् । धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारी तर्फ पलायन भएका छन्, लामो समयदेखिको पुख्यौली व्यवसायलाई अझै कुरेर बसेका राजकुमार एक्ला पात्र हुन् । धेरै चिसो हुने, कृषिको सम्भावना कम, आयआर्जनको बाटो कम र विभिन्न सेवासुविधा पनि कम हुदै गएकाले यो स्थान अहिले रित्तो र सुनसान जस्तो लाग्छ ।
पुराना घरहरु क्रमश जिर्ण हुदै गइरहेका छन् धेरै घरहरु खाली देखिन्छन् । मानिसहरुको आवतजावत पनि कम हुने भएकाले सामान्य चियापसल पनि चल्न गाह्रो रहेको विष्ट बताउँछन् । अब बाँकी रहेको ४ घर पनि बसाईसराइ भएर यहाँबाट विस्थापित हुने चरणमा पुगेका छन् ।
लालीखर्कको चित्रणले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको यात्रामा सडक यातायातले पारेको प्रभावलाई प्रष्ट पार्दछ । ताप्लेजुङको एक मात्र सुकेटार एयरपोर्ट र मोटर बाटोबाट सदरमुकाम फुङलिङ भएर उत्तरी र दक्षिणी तर्फको कञ्चनजंघा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणको लागि आउने पर्यटकहरु दुई फरक बाटो भएर जाने गर्दछन् । ताप्लेजुङको कुना कन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्गहरुमा हिड्ने विदेशी पर्यटकहरुको संख्या ह्वत्तै घट्न पुगेको स्थानीय होटल तथा होमस्टे व्यवसायीहरु बताउँछन् । सदरमुकामबाट साउथ तर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भञ्ज्याङ, फुम्पे डाँडा, याम्फुदिन हुदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्प सम्म रहेकोमा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ भने नर्थ बेसम्याम्प तर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ ।
कुनै समय झलमल बनेको लालीखर्क मात्रै होइन अहिले सिरीजंघा ३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडे भञ्ज्याङ पनि सुनसान बनेको छ । त्यहाँ सञ्चालन भएको ५ वटा होटलहरु स्थानीयस्तरका पदयात्रीहरुलाई सामान्य सेवा दिएर दिन काटिरहेका छन् । विगत ४० वर्ष भन्दा अगाडिदेखि होटल र साना पसल व्यवशाय गरेर बसिरहेका स्थानीय सुवास बस्नेत भन्छन् “ विगतमा यहाँ पर्यटकहरुको आवागमन राम्रो थियो, हामीले पनि त्यो समयमा सकेसम्म राम्रो सेवा दिएका थियौं र भनेको जस्तै आम्दानी पनि गर्यौं । त्यसैको भरमा छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्न सक्यौं र उनीहरु अहिले राम्रो रोजगारी गरेर जिवीकोपार्जन गरिरहेका छन् । अहिले पनि यहाँ युवा साथीहरु यो व्यवसायलाई व्यवस्थित बनाएर थप लगानी गर्ने तयारीमा छन् तर यसको भविष्य आउँदो दिनमा राम्रो देखेका छैनन् । पहिला पर्यटक आउँदा निकै परसम्म लिन गइन्थ्यो र ल्याएर कसको राख्ने होडबाजी चल्थ्यो, कहिले पर्यटक बस्ने ठाउँ नपाएर भौतारिन्थे तर अहिले वर्षमा १०÷१५ जना बाहेक पर्यटक हिडेको देखेको छैन ।“ तर लालीखर्क जतिकै यो सुन्दर बस्ती पर्यटक नआउँदैमा सुनसान नहुने उनको तर्क रहेको छ ।
सिरीजंघा–६ को फुम्पे डाडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल माबो पनि अव यो व्यवसायबाट केही गर्छु भन्ने आश नरहेको उनको गुनासो छ । मावो भन्छन् “ यति लगानीमा होटल सञ्चालन गरियो तर आम्दानी लिने बेलामा पर्यटकहरु अर्को सडकको बाटो भएर सिधै याम्फुनि पुग्छन् । भोलि अझ सडक राम्रो भएपछि त झन् यहाँ हिड्ने कुरै छैन त्यसैले अव बैकल्पिक व्यवसायमा लाग्नुको विकल्प नै छैन । स्थानीय मानिसहरुको पनि कम आवातजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नहेको भट्टराईको दाबी रहेको छ । सुकेटारबाट याम्फुदिनसम्मको ४ दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुदै सिनाम, आम्वेगुदिन हुदै एकदिन हिडेर २ दिनमै पुरा गर्दछन् । त्यस्तै ताप्लेजुङबाट ३ दिनको पैदल दुरी कायम गरिएको फुङलिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दुरी पर्यटकहरुले गाडीमार्फत एकैदिनमा पुरा गर्दछन ।
यता फुङलिङ नगरपालिका १० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरु क्रमश अन्य प्रयोजनमा प्रयोग भइरहेको छ भने छिरुवामा रहेका होटलहरुले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीहरुलाई सेवा दिइरहेका छन् । करिब २३÷ २४ दिनको कञ्चनजंघा राउण्ड पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकहरुबाट आउने भएको र सडक यातायात भएपछि थप सहजता भएकाले पर्यटकहरु यस क्षेत्रमा सडक पुगेपछि गाडीको यात्रा सहज हुने गरेको पर्यटक गाइड मिङ्मा तामाङ बताउँछन् । उनि भन्छन् “ सुकेटारबाट साउथ र नर्थ तर्फको दुवै बाटो म विगतमा धेरै हिडेको छु यात्रा एकदम लामो छ, अहिले पर्यटकहरुलाई छोटो समयका कारण छोटो यात्रा गर्न मन पराउँछन् त्यसैले अव सडक खुलेको क्षेत्रमा बनेका बाटो अझ स्तरीय बनाएर नियमित सवारी चलेमा राम्रो हुन्छ, अव पहिलाको पैदलमार्ग कमै पर्यटकको रोजाईमा पर्दछ । “
हाल सकड सञ्जाल पुगेको स्थानसम्म विगतमा पर्यटकको सेवाका लागि कति मात्रामा होटल, खाजा पसल थिए भन्ने आधिकारिक तथ्याङक छैन । धेरैले व्यवसायलाई त्यागेर पलायन भएका छन् कसैले अन्यमा रुपान्तरण गरिसकेका छन् तर पनि अहिले पर्यटककै सेवामा रहेका केही स्थानका होटल तथा होमस्टेहरुमा लालीखर्कमा ४ वटा, काँडेभञ्ज्याङमा ५ वटा, फुम्पे डाँडामा २ वटा, मामाङ्खेमा ३ वटा, मित्लुङमा २ वटा, छिरुवामा २ वटा, तापेथोकमा १ वटा, पिपल डाँडामा ३ वटा रहेको पछिल्लो समयमा कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत सञ्चालनमा रहेको समृद्ध पहाडको आर्थिक तथा प्रविधिक सहयोगमा निमार्ण भएको समृद्ध पहाडका परियोजना ताप्लेजुङका कार्यक्रम पर्यटन सहायक जितेन चेम्जोङले बताउनुभयो । सडक यातायातका कारण यस क्षेत्रमा लगभग समग्र विदेशी पर्यटकको २० प्रतिशत मात्रै यस क्षेत्रमा पैदल यात्रा गर्ने र अझ सडकको स्तर सुधार भएको र नियमित सवारी साधन चलेको खण्डमा यसमा पनि कमि आउने पर्यटन सहायक चेम्जोङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*