लुक्ला विमानस्थल छिटै स्थानीय सरकारलाई हस्तान्तरण हुन्छ : मन्त्री भट्टराई

संवाददाता
३० कार्तिक २०७७, आईतवार १९:३९

सोलुखुम्बु ।
सोलुखुम्बु स् संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल (लुक्ला विमानस्थल) स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन्‌।

​खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्र उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय सरकारको मागअनुसार कानूनी प्रक्रिया पूरा गरी विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको बताए।

मन्त्री भट्टराईले कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल बनेको समयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै पर्यटकलाई स्वागत गर्नुपर्नेमा जोड दिए। खुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालय व्यवस्थापन गर्ने, नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाइड र भरियालाई विशेष तालिम दिइने र तालिम विहीन गाइडलाई खुम्बुमा पर्यटक घुमाउन निषेध गर्ने भट्टराईले बताए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले स्थानीय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

​खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङ्बोचे विमानस्थल स्तरोन्नती तथा सञ्चालन गर्न स्थानीय तहसँग आवश्यक छलफल गर्नुपर्नेमा जोड दिइन्। विमानस्थलको विषयमा स्थानीय नागरिकले समेत सञ्चालन विधिबारे छलफल गर्नुपर्ने माग राखेको हुँदा सोहीअनुसार कार्य अगाडी बढाउन उनले आग्रह गरिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त तीन करोड ६३ लाख रुपैयाँ बजेटबाट करिब ४ महिना अगाडी निमार्ण सम्पन्न भएको सूचना केन्द्रको आज औपचारिक रुपमा उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*