तीन परदेशीको सहयोगमा ‘मामाङखे सहायता समाज’

संवाददाता
३ मंसिर २०७७, बुधबार २०:३६

ताप्लेजुङ,३ मंसिर ।
मानिसहरु काम, अध्ययन र भ्रमणको सिलसिलामा विश्वका हरेक ठाउँमा पुगिरहेका हुन्छन् । कोहि रहर त कोहि बाध्यताले आफ्नो जन्मगाउँ छोरेर भविष्यको खोजिमा बाहिरिन्छन् । तर, धेरै टाढा रहेर पनि गाउँघरलाई हमेसा सम्झिरहेका हुन्छन् । त्यहाँका दुःख, सख, पीडा र अभावलाई महसुस गरिरहेका हुन्छन् । गाउँमा कोहि बिरामी पर्दा आफै बिरामी भएजस्तो, कसैलाई समस्या पर्दा आफैलाई परेजस्तो ।
अनि मातृभुमीको लागि केहि गर्ने सोच बनाउँछन् । यस्तै पवित्र सोच बनाएका छन्, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–६ मामाङ्खेमा दुर्गा, मञ्जुकला र घनेन्द्र मावोले । यी तीनको सक्रियतामा ‘मामाङ्खे सहायता समाज’को स्थापना भएको छ । समाजको कोषमा १ लाख ७५ हजार जम्मा गरिदिएका छन् । यो रकमले मामाङ्खेमा कोहि बिरामी परेर बाहिर उपचार गर्न लैजान परे, सुत्केरी, विपन्नहरुको स्वास्थ्य उपचारमा खर्च गर्ने उनिहरुको लक्ष्य छ ।
साविक मामाङ्खे ५ घर भएका दुर्गा मावो हाल साउदीमा छन् । समाजको कोषमा उनले ६० हजार दिएका छन् । साविक मामाङ्खे ७ पौवा घर भएका घनेन्द्र मावो हाल अमेरिकामा छन् । उनले कोषमा ६५ हजार र साविक मामाङ्खे ३ घर भइ हाल हाल हङकङमा रहेकी मञ्जुकला मावोले ५० हजार जम्मा गरेर कोष खडा गरेका हुन् ।
परदेशीहरुबिच आफ्नो गाउँको लागि के गर्न सकिन्छ भनेर फोन कुराकानीको सन्दर्भमा मामाङ्खेवासीको लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने योजना बनेको घनेन्द्रले बताए । सुरु ‘मामाङ्खे स्वास्थ्य सहायता कोष’ नाम दिएर कार्य समिति र सल्लाहकार समिति बनाइएको थियो ।
तर नेपाल सरकारको नियम कानुन अनुसार स्वास्थ्य कोष नामाकरण गर्न नमिल्ने भएपछि २०७७ कार्तिक २२ गते मामाङ्खे सहायता समाज स्थापना गरिएको समाजका सचिव सुनिता मावोले बताइन् । संस्थाको संस्थापमा दुर्गा मावो, घनेन्द्र मावो र मञ्जुकला मावो छन् । स्थानीय मम राजा कृषि फर्मका सञ्चालक सोम मावोको अध्यक्षतामा संस्थापक कार्य समिति र लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मी मावोको संयोजकत्वमा सल्लाहकार समिति छ । दुवैमा सात सदस्य छन् ।
समाजको मुख्य उद्देश्य आर्थीक अवस्था न्युन भएको मामाङ्खेवासीको स्वास्थ्य उपचारमा सहयोग गर्ने रहेको संस्थापक दुर्ग मावोले बताए । साथै आपतकालिन स्वास्थ्य समस्या र प्रसुति सेवामा पनि सहयोग गरिनेछ ।
‘यो संस्था मामाङ्खेवासीको स्वास्थ्य सहयोगका लागि विशुद्ध संस्था हुने र संस्थालाई राजनैतिक र आफन्तको संस्था होइन,’ दुर्गाले भने, ‘गाउँको स्वास्थ्य अवस्था सुधार गर्न गरिएको कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्छु ।’ संस्थालई दिगो र प्रभावकारी सञ्चालनको लागि देश विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजु भाई दिदी बिहिनीहरुबाट सहयोगको अपेक्षा राखिएको मञ्जुकला मावोले बताइन् । समाजको कोषमा सहयोग गर्न इच्छुकले नेपाल बैंक लिमिटेडको खाता नं २६१००१०६८९८३०८०००००१ मा रकम जम्म गरिदिन सक्नेछन् । र मोबाइल नं ९८६०२०९६२६ मा सम्पर्क गर्न सक्नेछन् ।
वडा कार्यालयसँग समन्वय गरेर कोष खडा गरिएको घनेन्द्रले बताए । विभिन्न ठाउँमा रहेका मामाङ्खेवाशीको सक्रियतामा कोष स्थापना हुनु खुसीको कुरा रहेको र आफूहरुले पनि सक्दो सहयोग गर्ने मामाङ्खेका वडाध्यक्ष सुखराज मावोको भनाई छ ।
ममाङ्खे ३७.०४ वर्ग किलोमिटर क्षेत्रफल रहेको कञ्चनजंघा हिमालको काखमा रहेको वडा हो । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १ हजार दुई सय ६८ र परिवार संख्या २ सय १२ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*