जमिन फिर्ता आउन पायो भने सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ

गत मंसिर ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको घुन्सामा सम्बोधनको मुख्य अंश
संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १९:२४

ताप्लेजुङ,१२ मंसिर ।
संविधानमा समेटिएको जमिन फिर्ता आउन पायो भने सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ
अवश्य नै अहिले हाम्रो देश विकासको गतिमा अगाडि बढिरहेको छ। चारैतिर विकासको एउटा लहर नै आएको छ र उत्साह छाएको छ। हामी विभिन्न दुर्गम ठाउँलाई सुगम बनाइरहेका छौं। टेलिफोनबाट जोडिरहेका छौं, बाटाहरूबाट जोडिरहेका छौं, हवाईजहाज सेवाबाट जोडिरहेका छौं। अरू अनेक हिसाबले जोडिरहेका छौं र विकासको तीव्र प्रक्रियाले मात्रै देशका सबै कुनाकन्दरालाई जोड्न सक्छ। यी गाउँ केही वर्ष अगाडिसम्म साह्रै दुर्गम थिए। अब यी साह्रै दुर्गमबाट अलिक सुगमजस्ता भएका छन्। यहाँ आउन यस्तो सहज थिएन, अहिले पनि खासै सहज छैन तर पहिलेभन्दा धेरै सहज भएको छ।
म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी उत्साहसाथ देश विकासको काममा लागौं। यहाँ राजनीतिक पार्टीमा रुचि राख्ने र क्रियाशील साथीहरू पनि हुनुहुन्छ होला। अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षविरुद्ध, कहिले प्रधानमन्त्रीविरुद्ध, कहिले लिखित र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका, सरकार ढलिहाल्छजस्ता कुरा तपाईंहरूले सुन्नुभएको हुन सक्छ। केही केही मान्छे, केही काम नपाएका मान्छे, देशमा अस्थिरता चाहने मान्छे, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छे र यसो गरिरहेका छन्। हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौं। संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौं। अहिले केही मान्छेहरूलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ। अहिलेको यो हल्लाखल्ला अरू केही होइन। यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ। त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ। आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ। त्यस्ता मान्छेले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदै छ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन्। तिनले सुनियोजित रूपमा त्यस प्रकारका कामहरू गरिराखेका छन्। तर, म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु। मैले चीनतिरबाट पनि नाकाहरू÷बाटाहरू खोल्ने नीति लिएँ र पहिलोपल्ट सरकारको नेतृत्व गर्दा हामीले चीनसँग यातायात र पारवहन सम्झौता ग¥यौं, पहिलोपल्ट म प्रधानमन्त्री हुँदा त्यसो ग¥यौं। नाकाबन्दीविरुद्ध हामी लडेर सामना ग¥यौं, नाकाबन्दी हामीले खोलायौं। चीनतिरबाट थुप्रै नाका खोलायौं। सन्धि–सम्झौता ग¥यौं र हाम्रो देशको विकासका लागि हाम्रा दुबैतिरका छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्ने र विकासको कामलाई दुवैतिरको साथ, सहयोग र सहकार्यमा अगाडि बढाउने नीति लियौं। मान्छेहरूले यो हुन्छ भन्ने विश्वास गरेका थिएनन्। तर, यो भएपछि केही मान्छेहरू आत्तिए। अहिले पनि तिनीहरू आत्तिएको मात्रै हो। त्यसकारण म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु।
म सरकारलाई गलत बाटोमा जान दिन्न । देश, जनता, विकास, स्थायित्व, स्थिरता र शान्तिका पक्षमा देशलाई अगाडि बढाउने काम हुन्छ ।
नेपालमा लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, संघीय लोेकतान्त्रिक गणतन्त्रका सम्बन्धमा कसैले भ्रम फिँजाउनु बेकार छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हाम्रो संविधानले व्यवस्था गरेको छ। हामीले यो लडेर ल्याएका छौं। यसको सुदृढीकरणका लागि, यसको सफल प्रयोगका लागि नै हामी काम गर्छौं। तसर्थः तपाईंहरू ढुक्क भएर विकासका कामलाई साथ दिन लाग्नुहोस्। हामी देश विकासलाई अगाडि बढाउन सरकार दत्तचित्त छौं। मलाई काठमाडौं मात्रै बसे पनि पुग्थ्यो, यहाँ नआए पनि पुग्थ्यो। अस्ति भर्खर म किमाथाङ्का गएँ। बाटो कस्तो बन्दै छ, कसरी बन्दै छ, के हँुदै छ ? चीनसँगको त्यो हाम्रो यस्तो अर्को नाका हो, जो धेरै उचाइमा जानु पर्दैन र थोरै उचाइमा सधँै चल्न सक्छ। यस्तै २३÷२४ सय मिटरको उचाइमा रहेको छ। त्यति कम उचाइको सधैँ चल्ने बाटो किमाथाङ्का करिडर अरुण नदीको किनारैकिनार बनिरहेको छ। हामी तमोर नदीको किनारैकिनार अर्को बाटो पनि खोल्दै छौं। पश्चिमतिरबाट पनि थुप्रै नाका खोल्दै छौं। त्यसकारण उत्तरी भेगका गाउँ पनि अब दुर्गम होइनन्। चीनदेखि दक्षिणसम्म यी सबै बाटोले जोडिन्छन् र हामी केही वर्षभित्र यी बाटोलाई पक्की बाटोका रूपमा विकास गर्छौं। यसरी अब देश विकासको बाटोमा अघि बढेको छ। तपाईंहरूले बुनेका गलैँचा अब मान्छेले बोकेर होइन, गाडीले बोकेर बजारसम्म पु¥याउनेछ। केही समय मात्रै हामीले यसको प्रतीक्षा गर्नुपर्छ। यसरी काम हुँदै गरेको, निर्माण कार्य हुँदै गरेको, बाटाका ट्र्याक खोल्दै गरेको तपाईंहरूले देख्नुभएको छ। बाटोको स्तरोन्नति गरेको पनि तपाईंहरूले देख्नुभएको छ। मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन। तपाईंहरू ढुक्क हुनुहोस्, देश अगाडि बढ्छ।

मैले सरकारलाई गलत बाटोमा जान दिन्न। देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, स्थायित्व र स्थिरताको पक्षमा, शान्तिको पक्षमै यस देशलाई अगाडि बढाउने काम हुन्छ। त्यस हिसाबले कसरी बढाउनु पर्छ, ? त्यसमै सरकार दत्तचित्त भएर लागेको छ। म दत्तचित्त भएर लागेको छु। हामी विभिन्न ठाउँमा गएर, विभिन्न ठाउँका अवस्था कस्ता छन्, त्यहाँको विकास कसरी गर्नुपर्छ भनेर हेरिरहेका छौं। म तपाईंहरूलाई ढुक्क भएर विकास निर्माणको काम र उन्नति प्रगतिको काममा अगाडि बढ्न आग्रह गर्दछु।
म हाम्रा युवालाई भन्न चाहन्छु, तपाईंहरूले सही बाटो लिनुपर्छ। विकासको बाटो लिनुपर्छ। आआफ््नो ठाउँको विकास कसरी गर्ने ? कसरी अगाडि बढाउनुपर्छ ? एउटा नमुना त हाम्रो याङजुङ शेर्पा नै हुनुहुन्छ, जसले यस दुर्गम ठाउँमा जन्मिएर यस ठाउँको विकासका लागि फाउन्डेसन निर्माण गरेर विभिन्न ढंगले काम अगाडि बढाइरहनुभएको छ। मलाई आज अलिक माइत आएजस्तोजस्तो पनि लागिरहेको छ। कोेसेली दिएर पठाउन खोजेजस्तो देख्छु। तर, यो फेरिफेरि आइरहोस् भनेर हो कि के हो ? हामीलाई यस्ता कोसेली धेरै नदिए राम्रो हुन्थ्यो ! धेरै कोसेली नदिए नै राम्रो हुन्थ्यो ! उता बस्न मन नलागेर फेरिफेरि आइरहुँजस्तो लागिरह्यो भने…! त्यसैले कोसेलीहरू अलि धेरै नदिए हुन्थ्यो। खैर, म सबै साथीलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु। तपाईंहरूकोे ल्होसारजस्ता चाडहरूको अवसरमा शुभकामना दिन चाहन्छु। सबै स्वस्थ रहनुहोस्, उन्नति र प्रगति गर्नुहोेस्। हाम्रा बालबालिकाको पढाइ राम्रो होस्। गुरुबा, गुरुआमाहरूले राम्रो पढाउनुहोस्। राम्रो पढाउन ध्यान दिनुहोला। र, बालबालिका, साना नानीहरूलाई म आग्रह गर्न चाहन्छु, मिहिनेतसाथ पढेर देशका लागि भविष्यमा केही गर्नुपर्छ। यस्तै दुर्गम ठाउँमा जन्मिएका मान्छेहरू संघर्ष गरेर अगाडि बढेका हुन्छन्, संघर्ष र कठिनाइ बुझेका हुन्छन् र उनीहरूले देश विकास गर्ने कुरामा झन् ठूलो र झन् धेरै योगदान गर्न सक्छन्। कठिनाइको सामना गरेर अगाडि बढ्न सक्छन्। तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु, अगाडि बढ्ने अठोट गर्नुहोस्। अगाडि बढ््न र देश विकास गर्न सम्भव छ। दुर्गमलाई सुगम बनाउन सकिन्छ। दुर्गमको बेग्लै महŒव हुन्छ। सहज बनाएर यसको महŒव यति नजिक हिमाल देखिन्छ, सजिलै यति नजिकैबाट हेर्न सकिन्छ। यो असाधारण सुन्दर कुरा हो। यसलाई हामी आवागमन गर्न सहज बनायौं भने यो पर्यटनको लागि बहुतै राम्रो ठाउँ हुन्छ। यसनिम्ति तपाईंहरूका माग मैले हेरेको छु।

यो ठाउँ (घुन्सा) आउँदा विकासप्र्रेमी योजनविद् डा.हर्क गुरुङजी र नेपालको विकासमा साह्रै रुचि राख्ने फिनल्याण्डका त्यसकाबेला कार्यवाहक राजदूत मुत्सुनेनलगायत साथीहरूको यहाँ भएको दुर्घटनामा ज्यान गुमेकोे थियो। त्यो अत्यन्तै दुःखको कुरा थियो। यो अलिक जोखिमपूर्ण भूगोल छ। भरसक राम्रो मौसम भएको बेला मात्रै आउने र यहाँ आउन हेलिकप्टरबाट उड्ने गर्नुपर्छ। नत्रभने यो बाटो बनेपछि हेलिकप्टरबाट धेरै आइरहनु पर्दैन। मान्छेहरू बाटोबाटै आउन–जान सक्छन् र दुर्घटना पनि कम हुने स्थिति बन्छ। मौसमको खराबीका कारण दुर्घटना कम हुने अवस्था सिर्जना हुन्छ। यस घडीमा खासमा आज घुन्सा आएका बेला म डा. हर्क गुरुङ, तत्कालीन वन राज्यमन्त्री गोपाल राई र फिनल्यान्डका हाम्रा मित्र मुत्सुनेनसमेतका सबैलाई स्मरण गर्न चाहन्छु, उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गर्न चाहन्छु। यस ठाउँको विकासलाई ध्यानमा राखेर नै उहाँहरू यहाँसम्म आउनुभएको थियो।
(प्रधानमन्त्री ओलीद्वारा सोमबार ताप्लेजुङको घुन्सामा भएको सम्बोधनको मुख्य अंश)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*