नेकपा विवादः पार्टी विभाजनको विपक्षमा प्रदेश १

एकताको मर्म अनुसार अघि बढ्न जिल्ला अध्यक्षहरुको सुझाव
संवाददाता
२१ मंसिर २०७७, आईतवार १२:२३

विराटनगर, २० मंसिर–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केन्द्रमा थप चुलिँदै गइरहेको र पार्टी फुटको संघारमा पुगेको आशंका भइरहेका बेला प्रदेश १ का नेता कार्यकर्ताहरु पार्टी विभाजनको विपक्षमा उभिएका छन् ।

प्रदेश १ का १४ वटै जिल्लाका पार्टी नेता कार्यकर्ताहरु पार्टी विभाजनको विपक्षमा एकमत देखिएका हुन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबिच सहमतिको सम्भवना न्युन बन्दै गइरहेका बेला १ नं. प्रदेशका सवै जिल्ला अध्यक्षहरुले सहमतिका साथ विवाद समाधान गर्नुको विकल्प नभएको बताएका छन् । उनीहरुले पार्टी एकताको मर्म अनुसार चल्न पार्टी नेतृत्वलाई सुझाव समेत दिएका छन् ।

यस अघि पनि पार्टीको विवाद चुलीएर विभाजनकैस्थितीमा पुग्न लागेको बेला प्रदेश १ का सवै जिल्लाले सामुहिक निर्णय गरेर शिर्ष नेतृत्वलाई खबरदारी गरेका थिए । यतिबेला पनि सवै जिल्ला अध्यक्षहरु पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनीहरुले समृद्धि, विकास, जनताको न्याय र समानताका निम्ती पार्टी एकता भएकाले विभाजनको विपक्षमा आफुहरु नरहेको बताए ।

जिल्ला अध्यक्षहरुको यस्तो छ मत

मोरङ
मुलुकको राष्ट्रिय राजनीतिमासमेत प्रभाव पार्ने जिल्लाका रुपमा चिनिएको मोरङ जिल्लाका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी एकता प्रकृयामै रहेकाले हाल पार्टीको नीति विधि र कार्यक्रम अन्तरिम भएको उल्लेख गर्दै साझा धारणा वा निर्णयलाई मात्र मान्ने बताए । ‘हामी पार्टी एकताको प्रकृयामा छौं । महाधिवेशनसम्म हाम्रा संरचनाहरु, नीति, विधि र कार्यक्रम अन्तरिम हुन ।’ उनले भने,‘अन्तरिम विधान र नेतृत्वको साझा धारणा वा निर्णयलाई मात्र पार्टी निर्णय मानिने छ । हामीले निर्वाचनमा जनता सँंग गरेको प्रतिवद्धता भनेको शान्ति, स्थिरता, सुशासन, र विकास हो । जनतासँगको यो प्रतिवद्धता आफ्ना कुण्ठा, ईगो, आरिस, महत्वाकांक्षा र अधैर्यता प्रदर्शन गरेर निर्लज्य वन्ने कसैलाई छुट छैन ।’

अध्यक्ष पोखरेलले शिर्ष नेताहरुको इतिहास बारम्बार कार्यकर्ता र जनताले तौलिएको दावी गर्दै कार्यकर्ता र जनतालाई मुल्यांकन गर्ने वैधानिक विधिमा लान र धैर्यता राख्न आग्रह गरेका छन् । ‘देश, जनता र कार्यकर्ता एकताको पक्षमा छन । जतिसुकै शव्दजालको प्रयोग गरेपनि एकतामा भाँजो कसले हाल्दैछ भन्नेकुरा नेपाली जनताले अनूभुत गरिरहेकै छन् र सचेत छन् ।’ उनले भने,‘तलका संगठन र सदस्यहरुको एउटै मात्र आवाज र दवावको आवश्यकता छ, सहमति, एकता र माहाधिवेशन । अन्य कुनै पनि खाले विग्रहलाई स्वकारिने छैन ।’

झापा

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका अध्यक्ष चिन्तन पाठकले पार्टी एकताको मुल मर्म सवैले आत्मसाथ गरे विवाद समाधान हुने बताए । अध्यक्ष पाठकले विधान अनुसार दुई अध्यक्षको सहमतिको निर्णय मात्र मान्य हुने दावी गरे । ‘महाधिवेशनसम्म दुईवटै अध्यक्षहरुको सहमतिबाट मत्रै हरेक कुराहरु निदान गर्ने विधानमै व्यवस्था गरेको हुनाले त्यो भन्दा अर्को बाटो हामी अहिले देख्न सक्दैनौँ । दुवै अध्यक्षहरु त्यो पाटोमा फर्कनुपर्छ । यसो हुँदा पार्टी विभाजन हुँदैन र नहोस भन्ने आम कार्यकर्ता, जनताको चाहना एवम राष्ट्रको आवश्यकता हो ।’ उनले भने,‘आ–आफ्नो ढंगबाट जाने, एकले अर्कालाई नस्वीकार्ने, सहमतिमा नटुंग्याउने हो भने पार्टी एकता हुनु र नहुनुको अर्थ रहँदैन । राष्ट्रिय महाधिवेशनसम्म अल्पमत बहुमतको कुरा कतै कहिँ कुनै कार्यकर्तालाई स्वस्कार्य हुँदै हुँदैन । झापाका नेता कार्यकता र जनता विभाजनको पक्षमा छैनन् ।’

अध्यक्ष पाठकले पार्टी एकताको मर्मलाई लत्याउनेलाई आम कार्यकर्ताको साथ नरहने दावी गरे । ‘अब पार्टी एकताको मर्म लत्याएर यदि कोही विभाजनको पाटोमा गए हिँजो जो जतातिर थियो त्यतै लाग्छन नी । विभाजन भए जुन पार्टीको नामबाट हिँजो पार्टीको एकता भयो त्यो जोगाउने तिर लाग्लान । कसैलाई राष्ट्रपती, कसैलाई प्रधानमन्त्री नपाएको, कसैले पार्टी अध्यक्ष हारेको झ्वाँकमा कुनै नेताले केही निर्णय गर्छ भने त्यो उनीहरुको कुरा हो ।’ उनले भने,‘तर, हामी आम कार्यकर्ताहरु त्यो कुरालाई इन्कार गर्छौँ । त्यसको पछि कार्यकर्ता लाग्दैनौँ । कसैले के पाएन भनेर उनीहरुकै पछि कार्यकर्ता लाग्छन भन्ने मलाई लाग्दैन ।’

ओखलढुंगा

ओखलढुंगा अध्यक्ष मोहनकुमार खडकाले पार्टी विभाजन नभई कम्युनिष्ट मुल्य मान्यता अनुसार पार्टी एक ढिक्का हुनुपर्ने बताए । अध्यक्ष खड्काले पार्टी केन्द्रमा देखिएको विवाद र बहसमा तल्लो तह सहभागि हुन जरुरी नरहेको बताए । ‘दुवै पार्टी अध्यक्ष एकताका पक्षमा दृढताका साथमा अघि बढ्नुको बिकल्प छैन । पार्टी विभाजनमा गए ठुलो दुर्भाग्य हुनेछ ।’ उनले भने,‘विधि पद्धिति अनुसार दुवै शिर्ष नेताहरु चल्नुपर्यो । दुवै शिर्ष नेताले दम्भ र अहंकार गरेर हुँदैन ।’

उदयपुर

त्यसैगरी उदयपुर जिल्ला अध्यक्ष बिनोद कटुवालले पार्टी विभाजन भन्दा पनि रुपान्तरणको पक्षमा आफुहरु रहेको बताए । ‘विवाद समाधान र पार्टी एकतावद्ध हुनुपर्छ भन्ने उदयपुरका कार्यकर्ताको मत छ । पार्टी एकता भइसकेपछि पार्टी र सरकारका काम कारबाहीहरुका बारेमा समिक्षा हुने, पार्टी तथा सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता हो ।’ उनले भने,‘दुवै अध्यक्षले आफ्नो जिम्मेवारी समिक्षा गर्ने र कमिकमजोरी सच्याउन सक्नुपर्छ ।’

त्यस्तै सोलुखुम्बुका अध्यक्ष मानवीर राईले पनि पार्टी फुट्न नहुनेमा जोड दिँदै आगामी महाधिवेशनसम्म पार्टी एकता विपरीत कार्य गर्न नहुने बताए । ‘महाधिवेशनसम्म दुई अध्यक्ष रहने हाम्रो विधानमा प्रष्ट छ । ‘विधान नसच्चिए सम्म दुई अध्यक्ष नरहने भन्यो भने आधिकारीक पार्टीको निर्णय हुँदैन ।’ उनले भने,‘हिँजो पूर्ववत रुपमा दुवै पार्टी विभाजन हुँदाको पिडा र अनुभव आम नेता कार्यकताहरुलाई थाहा छ । पार्टी एकताको मर्म भुलेर कसैले पनि जानुहुँदैन । त्यसैले नेपाली जनताको हितका लागि पार्टी फुट्नु हुँदैन, हाम्रो चाहाना त्यहि नै हो।’

पाँचथर

उता पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले भने पार्टी फुट्न नहुने बताउँदै फरक मत राखेका छन् । ‘माथिको विवाद माथिनै मिलाउनुपर्छ ।’ उनले भने,‘हामी यो वा त्यो पक्षमा विभाजन हुने पक्षमा छैनौँ । पार्टी फुट्नु हुँदैन । हामीले मत राखेर थप समस्या सृजना गर्नु हुँदैन ।’

भोजपुर

नेकपा भोजपुर जिल्ला अध्यक्ष प्रेम राईले पार्टीको आन्तरिक विवादकै कारण सरकार गतिशिल हुन नसकेको दावी गरे । ‘पार्टीको आन्तरिक विवादकै कारण सरकारले काम गर्न पाएको छैन । कोरोनाबाट जनतालाई कसरी बचाउनुपर्ने भन्नेमा ध्यान सवैको जानुपर्ने थियो । काम गर्ने कुरामा प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुले साथ सहयोग गर्नुपर्दथ्यो । सरकारबाट केही कमजोरी भए होला तर, भएन भन्ने नाममा जुन हदसम्म पार्टी विभाजननै हुनेसम्मका कुरा आइरहेको छ, त्यो गलत छ ।’ उनले भने,‘अल्पमत र बहुमतको कुरा गर्ने समय अहिले होइन । यो बेला टाउको गनेर गर्ने कुरा अनुत्पादक छ । केही कमी कमजोरीहरु छ भने सच्चिनुपर्छ तर सरकारलाई आफ्नो ढंगबाट काम गर्न दिनुपर्छ ।’

ताप्लेजुङ

ताप्लेजुङ अध्यक्ष बिजय प्रकाश बनेमले पार्टीको विधिबाट कोही पन्छिन नहुने बताए । ‘कार्यकर्तालाई निरास बनाउने गतिविधि गर्नहुँदैन । पार्टी विभाजन हुँदाको पिडा हामी भुगोलमा काम गर्ने कार्यकर्तालाई थाहा छ, त्यसैले त्यतातिर जानुहुँदैन ।’ उनले भने,‘अर्को कुरा अहिले अल्पमत बहुमतको हिसाबले लाग्नु हुँदैन । हाम्रो पार्टीको विधानले स्पष्टरुपमा व्यवस्था गरेकैछ । नेताहरुले अल्पमत र बहुमतको हिसाबले भन्दा पनि छलफलको माध्यमबाट पार्टी विधि र पद्धति अनुसार निकास दिनुपर्छ ।’

खोटाङ

उता खोटाङ अध्यक्ष पृथ्वी किराँतीले पनि पार्टी विभाजन हुने कुरामा कार्यकर्ता सहमत नहुने दावी गर्दै शिर्ष नेताहरुको ध्यान मुलुकको प्रगतिप्रति हुनुपर्ने बताए । ‘जनताले दुई तिहाई नजिक मत सहित नेकपालाई कम्युनिष्टको जस्तो ऐन, नियम र कानुन बनाएर कम्युनिष्टको जस्तो शासन होस भनेर निर्वाचित गराएको हो । अब त्यतातिर उन्मुख नभइकन सरकारप्रति चासो र सरकारपट्टी मात्र ध्यान दिने संस्कार बेठिक छ ।’ उनले भने,‘हाम्रा शिर्ष नेताहरु सच्चिनु पहिलो प्रथामिकता हो । नेताहरु मुलुकको लक्ष्यप्रति प्रतिवद्ध रहनुपर्छ । पार्टी एकताको मर्म अनुसार अल्पमत बहुमतको कुरै आउँदैन । त्यो आगामी अधिवेशन पछि मात्र हो ।’

सुनसरी

सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ ले नेकपाको विवाद पार्टीलाई सिद्धान्त र बिचारमा चलाउनेमा रहेको बताए । ‘जनताले सरकारबाट अपेक्षा राखेको काम हुन सकेको छैन । सरकार पार्टी सिस्टममा चलेको छैन ।’ उनले भने,‘विवदका कारण पार्टी फुटको हल्ला चलेपनि पार्टी फुट्दैन भन्नेमा ढुक्क छौँ । दुई लाइनको संघर्षका रुपमा यो विवाद देखिएको छ ।’

तेह्रथुम

त्यसैगरी तेह्रथुम अध्यक्ष लक्ष्मण तिवारीले पनि पार्टी नेतृत्व अल्पमत र बहुमतको खेलमा लाग्न नहुने बताए । ‘पार्टीभित्रको छलफल र बहसलाई सकारात्मक ढंगबाट अगाडी बढाउनुपर्यो । तेह्रथुमका आम कार्यकर्ता र जनता विभाजनको पक्षमा छैनन् ।’ उनले भने,‘अहिलेको छलफल पार्टीलाई अझ मजमुत बनाउनका लागि हो । अहिले सहमतिकै आधारमा अघि बढ्नुको विकल्प छैन ।’

इलाम

प्रदेश नं. १ का भूमी, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका नेकपा इलाम जिल्ला अध्यक्ष रामबहादुर मगरले पार्टी सचिवालयमा दुवै अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदन स्तर सुहाँउदो काम नभएको बताए । ‘दुवै अध्यक्षले पेश गरेको प्रतिवेदन अलि स्तर सुहाउँदो काम भएनकी भन्ने मलाई चाहीँ लागेको छ ।’ उनले भने,‘तर, कार्यकर्ताहरु विभाजनका पक्ष छैनन् । यसलाई मिलाएर एउटै पार्टी जसरी बन्छ त्यतैतिर लाग्नु उपयुक्त हुन्छ । नेताहरुले त्यहि गर्नुहोला भन्ने ठान्दछु ।’

संखुवासभा

नेकपा संखुवासभाका अध्यक्ष हेमराज घिमिरेले कम्युनिष्ट पार्टीमा विवादहरु आइरहने र अन्तरपार्टी संघर्ष चलिरहने बताए । ‘केहेी न केही मत भिन्नताहरु यातो ठुलो पार्टीमा पक्कै छ । अन्तरपार्टी संघर्षको विधि प्रकृयाबाटै हल हुन्छ ।’ उनले भने,‘पार्टी फुट्छ, नेताहरु मिल्दैनन् भन्नेकुरा वाहियत हल्ला मात्र हो, द्धन्द्धवादको नियमलाई प्रयोग गरेर नेताहरु मिलेर जानुहुन्छ । ५/७ भित्रै विवाद समाधान हुन्छ ।’

धनकुटा

त्यस्तै नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र राईले मुुलुकको समृद्धि नेकपाबाट मात्र सम्भव भएको दावी गर्दै सोही अनुसार शिर्ष नेताहरु लाग्नुपर्ने बताए । ‘अहिले अल्पमत बहुमतको कुरा बेमौसमको नाटक मात्र हो । यसो गर्नु हुँदैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष निर्वाचित भएर आएको हो । एकताको भावना विपरित कसैको व्यक्तिगत इगोका कारण पार्टी एकतामा असर पर्ने काम गर्नु हुँदैन ।’ उनले भने,‘प्रधानमन्त्री एवम पार्टीको पहिलो अध्यक्षलाई हटाएर वा चिप्ल्याएर पार्टी एकता कायम हुँदैन । यसो गर्नु भनेको विभाजनतिर जानु हो । हामी धनकुटाका कार्यकर्ता विभाजनको कल्पनासमेत गर्न सक्दैनौँ ।’ स्रोत ः बिराट टाइम्सबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*