गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

संवाददाता
२० बैशाख २०७८, सोमबार १७:३५

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन्।

राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका सप्तरीका गंगाप्रसाद यादव पछिल्लो समय नेकपा एमालेमा लागेका थिए।

यसअघिका दुबै प्रदेश प्रमुख माओवादी केन्द्र निकट थिए।

नवनियुक्त प्रदेश प्रमुखलाई आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने मन्त्रिपरिषद बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज साँझ ५ बजे उनीहरूको सपथको तयारी भएको जानकारी दिए।

यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो। त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो।

तर, नेकपा विभाजन भएसँगै प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई भने पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*