नागरिक सरकारसँग सन्तुष्ट छैनन्: मन्त्री जोशी

संवाददाता
२६ आश्विन २०८०, शुक्रबार ०७:२४

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आम नागरिकहरू सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशीले सरकार र सरकारका निकायबाट प्रवाह हुने सेवाबाट नागरिकहरू खुसी हुन नसकेको बताएका हुन् । उनले सरकार र सरकारी निकायबाट प्रवाह हुने सेवाका विषयमा कर्मचारीहरू पनि जिम्मेवार ढङ्गबाट अघि बढ्नु पर्ने बताए । कर्मचारीहरूले सरकारका निर्णयलाई सही र सरल ढङ्गबाट कार्यान्वयन गराउन नसक्दा समस्या भएको उनको भनाइ छ ।

पछिल्लो समय प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पतालका सेवा प्रति नागरिकहरूको गुनासो बढ्दो क्रममा रहेको उनले बताए । सरकार र कार्यरत कर्मचारीहरूको सहकार्यमा उक्त गुनासो सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

‘आम नागरिकहरू सरकार र कर्मचारीसँग खुसी छैनन् । प्रादेशिक अस्पतालका सेवामाथि गुनासो बढ्दो छ । त्यसका लागि सुधारका काम गर्नुपर्छ ।’ उनले भने, ‘सरकारले मात्र गरेर हुँदैन । सबैले मिलेर सुधार गर्ने हो । अस्पतालको सेवा सुधारका लागि काम गर्नुहोस् । कहाँ सहयोग गर्नुपर्छ म प्रतिबद्ध छु । सरकारको निर्णयलाई कार्यान्वयन गर्नुहोस् । पारदर्शी र जिम्मेवार भएर जनताले थाहा हुने गरी काम गर्नुहोस् ।’

अस्पताल भित्र डाक्टरहरू असुरक्षित हुँदा सेवामा नै प्रभाव परेको भन्दै सो समस्या समाधानका लागि सरकारले काम गरिरहेको उनले बताए । चिकित्सकहरूले उच्च मनोबल सहित काम गर्न आग्रह गर्दै मन्त्री जोशीले चिकित्सकको सुरक्षामा सरकार प्रतिबद्ध रहेको र त्यसका लागि जिल्लामा सुरक्षा तथा अनुगमन समिति गठन भएको उनले बताए ।

नागरिकहरूको गुनासो आउने वातावरण अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालहरूलाई व्यवस्थित बनाउन र प्रादेशिक अस्पतालको सेवालाई उत्कृष्टता प्रदान गनेतर्फ ध्यान दिन उनले आग्रह गरे ।

विगतमा म नेविसंघमा हुँदा पनि अस्पतालहरूको अवस्था यस्तै छ । आज पनि समस्या उस्तै छ । अस्पतालको सुधारका लागि त्यति बेला बैले मेसुदेखि अध्यक्ष र सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको हो । तर, अवस्था फेरिएन । आज म सुधार गर्ने ठाउँमा छु । यो अवस्थाले हुँदैन । स्वास्थ्य क्षेत्रमा कुनै कमीकमजोरी गर्नुहुन्न । म गर्दिन तपाईँहरूलाई पनि गर्न दिन्न । नागरिकको सेवा गर्न आएको हुँ । तपाईंको जिम्मेवारी पनि त्यही हो । नागरिकको सेवा सहज सरल र स्तरीय हुनुपर्छ । पहल गर्नुहोस्,’ उनले भने ।

हेटौँडा अस्पताललाई प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सरकारले काम गरिरहेको र त्यसका लागि आन्तरिक सुधारका थप प्रयासहरु जरुरी रहेको उनले औँल्याए । अस्पताललाई व्यवस्थित बनाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थायित्व जरुरी रहेको उनले बताए । प्रतिष्ठानलाई स्थायित्व दिन सरकारले पहल गरिरहेको र त्यसका लागि ऐन संशोधनको तयारी भइरहेको उनले बताए ।

मन्त्री जोशीका अनुसार मानिसहरूमा पारिवारिक आर्थिक सामाजिक कारणले मनोरोग देखा गर्ने गरेको बताए । नेपाल पनि मानसिक रोगको उच्च जोखिममा रहेको र विशेष गरी सहरी क्षेत्रका नागरिकमा मनोरोगको जोखिम बढी रहेको उनले बताए । सो रोगको जोखिम नियन्त्रणका लागि काउन्सिलिङ र परामर्श गर्न जरुरी रहेको उनको भनाई छ । रोगका विषयमा समाजमा खुलेर कुरा गर्न सके मात्र नियन्त्रण गर्न सकिने उनले बताए ।

पछिल्लो समय चुनौतीपूर्ण अवस्थामा रहेको उक्त रोग लाग्न नदिन सरकारले तल्लो तहमा काम गर्ने योजना बनाएको उनले बताए । प्रदेश सरकारले स्थानीय तह र टोलमा जोडिएर उक्त रोग नियन्त्रणमा काम गर्ने तयारी गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*