हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड

संवाददाता
२६ आश्विन २०८०, शुक्रबार ०७:२८

हेटौँडा अस्पतालमा २५ शय्याको मनोचिकित्सा वार्ड उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्डको उद्घाटन गरेका हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरूलाई लक्षित गरी मनोचिकित्सा वार्डको सञ्चालनमा ल्याएको हो ।

समाजमा जटिल बन्दै गएको मानसिक समस्याका व्यक्तिहरूलाई काउन्सिलिङ र उपचार गर्ने उद्देश्य अनुसार अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए । उनका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषका लागि छुट्टा छुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनका लागि उद्घाटन गरिएको हो ।

यसअघि अस्पतालमा सो वार्ड सञ्चालनमा रहेको थिएन । गत असारबाट हेटौँडा अस्पतालमा १ जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपिडी मार्फत् सेवा प्रवाह गर्दै आएको र हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवा दिने अस्पतालले तयारी गरेको हो । अस्पतालमा स्थापनाको तयारी गरिएको उक्त वार्डको केही प्राविधिक र व्यवस्थापकीय कामहरू पुरा गर्न बाँकी रहेका र छिट्टै नै सो वार्डलाई पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने उनले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवम् हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईँका अनुसार सो वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुल्ला गरिएको छ । सोही वार्डका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्यापन गरेका एक जना एमएसी नर्सिङ अध्ययन गरेकी नर्स अस्पतालमा प्राप्त भएकोले सहजता प्रदान गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*