एमबिबिएस अध्ययनका लागि राक्सिराङले अनुदान दिन

संवाददाता
१६ कार्तिक २०८०, बिहीबार ०७:३५

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चिकित्सा शिक्षा अन्तर्गत मेडिकल डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान सहयोग प्रदान गर्ने भएको छ । गाउँपालिकाले चिकित्सा शिक्षातर्फ स्नातक तह (एमबिबिएस) अध्ययन गर्ने विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सार्वजनिक सूचना जारी गरेको छ ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार एमबिबिएस अध्ययन सहयोग अनुदान लिन चाहने विद्यार्थीलाई आवेदन पेस गर्न आग्रह गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रममा नै सो कार्यक्रम समावेश गरेको र गाउँसभाबाट एमबिबिएस अध्ययन सहयोग अनुदान कार्यक्रम स्वीकृत गरिएकाले उक्त कार्यक्रम कार्यान्वयनका लागि सूचना जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

गाउँपालिकाका स्थायी बसोबास गरी हाल मान्यता प्राप्त शिक्षण संस्थामा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले अनुदान कार्यक्रम स्वीकृत गरेको उनले बताए । अनुदान प्राप्त गर्नका लागि सूचना जारी भएको मितिले १५ दिन (मंसिर ४ गते) भित्र आवेदन पेस भनिएको छ ।

अनुदानका लागि तोकिएको ढाँचा अनुसारको आवेदन पत्रसहित आवश्यक शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस पत्र, अन्य कुनै ठाउँबाट कुनै किसिमको छात्रवृत्ति तथा करारमा अध्ययनरत हो वा होईन स्पष्ट खुल्ने गरी सम्बन्धित अध्ययनरत शिक्षण संस्थाको सिफारिस पत्र र विवाहित विद्यार्थीको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिको पेश गर्न सूचना मार्फत गाउँपालिकाले भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*