हेटौंडामा खेलकुद व्यापार महोत्सव

मकवानपुर । हेटौंडामा खेलकुद व्यापार महोत्सव हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।
आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सवको कार्यक्रमहरु सार्वजनिक गरेको हो । आगामी पुस ५ गतेदेखि १७ गतेसम्म हेटौंडा–१० स्थित टीसिएन खेल मैदानमा महोत्सव हुने आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष वेष खड्गीका अनुसार महोत्सवका लागि हेटौंडा उपमहानगरबाट अनुमति प्राप्त भइसकेको छ ।
‘खेलकुद व्यापार महोत्सव फरक शैलीको हुनेछ । मनोरञ्जन र खेलकुद प्रतियोगितासँगै व्यवसाय प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिनेछ ।’ अध्यक्ष खड्गीले भने, ‘महोत्सवमा किनमेल, सांगीतिक प्रस्तुति, नृत्यसहित दैनिक रुपमा खेलकुद प्रतियोगिता संचालन हुनेछ ।’
महोत्सवमा १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने उनले बताए । प्रतियोगितामा करिब २ हजार ५०० खेलाडीले सहभागिता जनाउने उनको भनाई छ ।
महोत्सवमा राष्ट्रिय स्तरको महिला र पुरुष विधामा उसु, राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता, प्रदेश स्तरको महिला तथा पुरुष कबड्डी प्रतियोगिता, जिल्ला स्तरको महिला तथा पुरुष कराँते प्रतियोगिता, जिल्ला स्तरको महिला तथा पुरुष विद्यामा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता, जिल्लाका विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता, अर्चरी खेल प्रदर्शनी, आमन्त्रित राष्ट्रिय स्तरको रेस्लिङ तथा कुस्ती प्रदर्शन र खुल्ला आमन्त्रित ब्याडमिन्टन खेल हुनेछ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यानका स्टलहरु राखिनेछ भने जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिएको छ ।
महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने बताइएको छ ।