१० वर्षपछि नेपाल टी–२० विश्वकपमा

संवाददाता
१७ कार्तिक २०८०, शुक्रबार १७:४८

१७ कार्तिक, हेटौँडा । टी–२० विश्वकपमा छनोटमा चिरपरिचित प्रतिद्वन्दी यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो ।
आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेट्टायो ।
नेपालको जितका लागी आसिफ शेखले अर्धशतक बनाए । उनले ५० बलमा ६३ रन बनाएका हुन् । यस्तै कप्तान रोहित पौडेलले ३३ रन बनाउँदा गुल्सन झाले २२ तथा कुशल भुर्तेलले ११ रनको योगदान दिए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए भने ोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।
यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपालले त्यसपछि छनोट हुने अवसरमा पाउँन सकेको थिएन । अब नेपालले टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा पर्सि आइतवार ओमानसँग कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । फाइनल खेल बिहान ११ बजे हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*