बागमतीमा विपदबाट ४१ जनाको मृत्यु

संवाददाता
२० कार्तिक २०८०, सोमबार २१:५२

मकवानपुर । बागमती प्रदेशमा विपद्मा परेर ४१ जनाको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लाहरूमा यस वर्षको मनसुनजन्य विपद्बाट ४१ जनाको मृत्यु भएको छ भने ३८ घरपरिवार प्रभावित भएका छन् ।

मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र भू–स्खलन लगायतका घटनामा परेर चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा ४१ जनाले ज्यान गुमाएका हुन् भने ३८ परिवार प्रभावित भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपद्का बाढी, पहिरो, डुबान, चट्याङ, हिम पहिरो, हुरी बतास, भूकम्प, भू–स्खलन, हिमपात, डढेलो र गैर प्राकृतिक विपद्का आगलागी, जनावर आक्रमण, सर्पदंश, सडक दुर्घटना, जल दुर्घटना, हवाई दुर्घटना, ग्यास विस्फोट, विषाक्त खाद्य सेवन, औद्योगिक दुर्घटना, महामारी, खानी दुर्घटना र वातावरणीय प्रदूषणलाई घटनामा परेर मानिसहरूले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा प्रदेशको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली र रामेछापमा विपद्बाट जनधनको क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि असोजसम्म प्राकृतिक र गैर प्राकृतिक विपद्मा परेर ४१ जनाको मृत्यु भएको हो । ३ महिनाको अवधिमा भएको ७१ विपद्जन्य घटनामा परेर एकसय ६ जना घाइते र १२ जना बेपत्ता भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका सचिव धुव्र गैडाकाअनुसार प्रदेशका उक्त जिल्लाहरूमा गत साउनमा मात्र ३९ विपद्जन्य घटना भएको र उक्त घटनामा १७ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । प्राकृतिक विपद्मा परेर ६ जना र गैर प्राकृतिक विपद्मा परेर ११ जनाको मृत्यु भएको उनले बताए । जसमध्ये पहिरोमा ५ जना र भू–स्खलनमा १ जनाको मृत्यु भएको थियो ।

गत साउनमा गैर प्राकृतिक विपद्मा ११ जनाको मृत्यु भएको थियो भने वन्यजन्तुको आक्रमण २ जना, सर्पदंशका कारण एकजना र जल दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो । उक्त घटनाहरूमा ११ जना बेपत्ता भएको मन्त्रालयको तथ्याङ्क रहेको छ । त्यस्तै गत भदौमा २२ विपद्जन्य घटनामा १९ जनाको मृत्यु भएको थियो भने ६३ जना घाइते भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

उक्त महिनामा प्राकृतिक विपद्का घटनामा परेर ४ जना र गैर प्राकृतिक विपद्का घटनामा १५ जनाको मृत्यु भएको थियो । जसमध्ये पहिरोमा ३ जना, भू–स्खलनमा एक जना, आगलागीमा २ जना, सडक दुर्घटनामा १० जना र जल दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । यसैगरी, गत असोजमा १० विपद्जन्य घटनामा ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको मन्त्रालयले जनाएको छ । सो महिनामा भएको विपद्जन्य १० घटनामध्ये पहिरोमा परी २ जना, आगलागीमा एक जना र जल दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*