व्यवस्थालाई कमजोर बनाउनेहरु सक्रिय भएः सभापति बाँनिया

संवाददाता
२४ कार्तिक २०८०, शुक्रबार २०:०१

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राज्य व्यवस्थालाई कमजोर बनाउनेहरु सक्रिय हुन थालेको बताएका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर–९ को कार्यालय भवनको उद्घाटन गर्दै सभापति बानियाँले व्यवस्थाको विरोध गर्दै नागरिकहरुको हक अधिकार प्राप्तीमा बाधा पु¥याउनेहरु सक्रिय रहेको बताए ।

उनले व्यवस्थाको नाममा जनताको अवस्था परिवर्तन हुन नदिनेहरु चिन्न जरुरी रहेको धारणा राखे । नागरिकहरुको आर्थिक सामाजीक विकासमा जनप्रतिनिधिहरुले ध्यान दिन जरुरीरहेको भन्दै उनले स्थानीय तहले नै वर्तमान व्यवस्था जोगाउन भूमिका खेल्नु पर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरुले सेवामुखी भावनाका साथ विकास र समृद्धिको काम गर्नुपर्ने बताए ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अब मनहरी गाउँपालिकाको एउटा मात्रै वडाको भवन निर्माण हुन बाँकी रहेको जानकारी दिँदै मनहरी ४ को पनि तिहार पछि ठेक्का लाग्ने बताए । उनले जनप्रतिनिधिलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका तयार रहेको बताए । मनहरी गाउँपालिकाले गरेको काम जनताले महसुस गर्न थालेका दावी गर्दै अध्यक्ष कालाखेतीले निःशुल्क स्वास्थ बीमा र छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताए ।

मनहरी–९ आफ्नै भवनमा

मनहरी–९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नवनिर्मित कार्यालय भवनको बिहीबार उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।

रत्नकुमारी एण्ड सन्स हेटौंडाले ७९ लाख ११ हजार ८३६ रुपैयाँमा साढे २ तले भवन निर्माण कार्य सम्पन्न गरेको हो । स्थानीय दुवमाया कालाखेतीले आफ्नो स्वर्गीय श्रीमानको स्मृतिमा उपलब्ध गराएको एक कठ्ठा १२ धुर जग्गामा वडा कार्यालय भवन निर्माण भएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

भवन निर्माणका लागि २०७६ माघ १ गते बोलपत्र आव्हान भएको थियो । एक करोड ३३ लाख ९० हजार रुपैयाँको स्टिमेट गरिएको उक्त वडा कार्यालय भवन ८८ लाख ८५ हजार ६६ रुपैयाँमा ठेक्का लागेको थियो । नवनिर्मित भवनको ६ वटा अफिस कोठासहित एउटा हल, गेष्ट रुम, किचन र शौचालय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*