नक्कली नोटसहित हेटौँडा ६ का चौलागाईँ पक्राउ

संवाददाता
२५ कार्तिक २०८०, शनिबार ०६:१४

२५ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौँडाबाट प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो हेटौँडा– १५ बाट नक्कली नोटसहित हेटौँडा– ६ का एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– ६ का ३० वर्षीय देवराज चौलागाईं रहेको प्रहरीले जनाएको छ । उनलाई पाँच सय दरका २० थान नक्कली नोटसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनलाई हेटौँडा– १५ नयाँबस्तीस्थित भित्री सडकखण्डबाट प्रदेश २–०३–००९ प ३८९८ नम्बरको स्कुटरमा नक्कली नोट राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । प्रवक्ता भण्डारीले नक्कली नोटसहित पक्राउ परेका चौलागाईंलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा तीन वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिता, २०७४ अनुसार पाँच वर्षदेखि १० वर्ष कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*