मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

संवाददाता
२५ कार्तिक २०८०, शनिबार ०६:२०

२५ कार्तिक, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँद्वारा जारी विज्ञप्तिमा यसवर्ष तिहारमा देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यलय मकवानपुरले चाडपर्वको बहानामा पटाका, भुइँचम्पा तथा आतिसबाजी नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेको छ । पटाका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको प्रयोगले स्वास्थ्य एवं सुरक्षालगायतका समग्र जनजीवनमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै सचेत रहन भनेको छ ।
प्रशासनले त्यस्ता पदार्थको भण्डारण, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको बताउँदै पटकाजन्य पदार्थ पड्काएमा वा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
चाडवाडको नाममा जुवा, तास खेल्ने खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न नगराउँन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू पनि नगर्न भनिएको छ ।
यस्तै, प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा नेपाल सरकारले पूर्णरुपमा रोक लगाएकोले सो कार्य नगर्न नगराउन आग्रह गर्दै विज्ञप्तिमार्फत कानुन विपरीतका गतिविधि, क्रियाकलाप सञ्चालन गर्ने र गराइएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*