सन्दीपले केपी ओली कप क्रिकेट प्रतियोगिता खेल्ने

संवाददाता
१ मंसिर २०८०, शुक्रबार ११:४६

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन् । पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै छन् । पछिल्लो दुई वर्षमा उनले दुईपटक मात्र घरेलु क्रिकेटमा सहभागिता जनाए । यसै वर्ष काठमाडौंमा आयोजना भएको मेयर्स कप ११ मा उनले भाग लिएका थिए । सन् २०२१ मा उनले एभरेस्ट प्रिमियर लिग खेलेका थिए । अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा व्यस्त रहँदा उनले घरेलु क्रिकेटलाई खासै समय दिन भ्याएनन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा हुने केपी ओली कप पोखराको रंगशालामा हुनेछ । बागमती प्रदेशले बिहीबार क्लोज क्याम्पका लागि खेलाडी छानिँदा सन्दीप पनि समावेश भएका छन् । बागमतीमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका सन्दीपसँगै प्रतिश जिसी रहेका छन् । यसैगरी सूर्य तामाङ पनि रहेका छन् । नेपालको उमेर समूहमा प्रतिनिधित्व गरेका रित गौतम पनि बागमती प्रदेशबाटै खेल्ने भएका छन् ।

बागमतीले प्रारम्भिक खेलाडी छनोट गर्दा अशोक पौडेल, आशुतोष गिरिया, विवेक रानामगर, विपिन आचार्य, दीपेश श्रेष्ठ, दुर्गेश थापा, गौरभ खड्का, गौतम केसी र इशान पाण्डे रहेका छन् । यसैगरी क्रिजन गुरुङ, प्रतीक श्रेष्ठ, रामनरेश गिरी, रिजन ढकाल, रित गौतम, रोशक विक, सचिन लाखे, सोनु देवकोटा र सुवास खत्री छन् । बागमतीले सुमन सुनार, तिलक भण्डारी, उत्तम रानामगर तथा योगेश क्षेत्रीलाई पनि समावेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको एक गरी ११ टोलीले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट बलरले २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ हात पार्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*