कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) आजदेखि विश्वविद्यालयमा सुरु भएको हो । कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गरिन् ।
मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै नेत्री राईले कृषिको अध्ययन–अनुसन्धानमा युवापुस्ता आउनुले सकारात्मक सन्देश प्रवाह गरेको बताइन् । कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले बजारमा आएका प्रविधिको अन्तरका कारण पनि किसानले आफ्ना समस्या समाधान गर्न नसकेका उनले बताइन् ।
बागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा नरविक्रम थापाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी भएको बताए ।
यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थासहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी भएका हुन् ।
सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुति गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्र प्रस्तुत गरिने छ ।
सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता छ ।