मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापन बन्द

संवाददाता
८ मंसिर २०८०, शुक्रबार ०९:३२

बागमती प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू विरोधमा उत्रिएका छन् । प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी प्राप्त गर्न नसक्दा उनीहरूले विरोधमा उत्रिएका हुन् ।

विगत ४ महिनादेखि प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत प्राध्यापकहरूले तलब, भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले जानकारी दिए । प्रतिष्ठानले विगत ४ महिनादेखि २४ जना प्राध्यापकहरूको तलब भत्ता लगायतका सुविधाको रकम भुक्तानी नदिएकाले विरोधमा उत्रिएको उनले बताए ।
विरोध स्वरूप प्राध्यापकहरूले गत कात्तिक २२ गतेदेखि पठनपाठन नै ठप्प पारेका छन् । अध्यक्ष सापकोटाका अनुसार प्रतिष्ठानले प्राध्यापकहरूको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दा समेत तलब भत्ता र अन्य सुविधा बापतको रकम भुक्तानी नदिएकाले पेन डाउन गरेको हो । प्राध्यापकहरूले पेन डाउन गरेसँगै विद्यार्थीहरुको पठनपाठन १५ दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।
प्राध्यापकहरूले गत भदौदेखि तलब भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त नगरेको अध्यक्ष सापकोटाले बताए । नवौँ तहमा कार्यरत एक कर्मचारीले बेसिक तलब ५१ हजार रुपैयाँ सहित भत्ता, लगायतका सुविधा प्राप्त गर्नुपर्ने भए पनि प्रतिष्ठानले भुक्तानी नदिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*