हेटौंडाबाट पेस्तोल सहित ३ जना पक्राउ

संवाददाता
२३ मंसिर २०८०, शनिबार १६:३४

मकवानपुरको हेटौंडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौंडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार हेटौंडा–१० बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ बर्षको निश्चल पौडेल, सोही स्थानका ३५ बर्षका गणेश घले र ३० बर्षको प्रितम क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नामयव उपरिक्षक सीताराम रिजालका अनुसार उनीहरुको साथबाट सेमि–अटोमेटिक पेस्तोल, २० राउण्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोईन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाईल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिवि युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसिको मोटरसाइकल बरामद गरेको छ ।

उनीहरुले मङ्सिर १९ गते हेटौंडा–९ स्थित सूर्य प्रसाद पौडेल(सुरेश)को घरमा गोली प्रहार गरेका थिए । घटना भएको नजिकै विवाह समारोह भएकाले कसैले पटका पड्काएको हुनसक्ने आशंका गरिएपनि भोलीपल्ट विहान घर बाहिर पड्किएको गोलीको खोकाहरु फेला परेपछि घटना बाहिरिएको थियो ।

गोली प्रहार भएको घटनाको जानकारी प्राप्त हुनासाथ सो सम्बन्धमा मंसिर १९ गतेबाटै प्रहरी उपरीक्षक रिजालको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थलको अनुसन्धान तथा घटनामा संलग्न फरार व्यक्तिहरु खोजतलास गर्ने क्रममा मंसिर २२ गते शुक्रबार उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*