सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि के गर्दैछ बागमती सरकार ?

संवाददाता
२३ मंसिर २०८०, शनिबार १६:३७

बागमती प्रदेशको संसदीय समितिको विषयमा छलफलका लागि गत आइतबार बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएपछि सरकार र प्रतिपक्षबिचको दुरी अझ बढेको छ ।

संसदीय समितिका सभापति चयनको विषयमा निर्णय गर्न र संसद अधिवेशन आह्वान गर्न गत आइतबार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको इच्छा अनुसार सभामुख पाठकले आह्वान गरेको बैठक ३ घण्टासम्म चलेको थियो ।
तर बैठकमा संसदीय समितिको निर्वाचन र अधिवेशनको विषयभन्दा पनि बजेट कार्यक्रमका विषयमा छलफल केन्द्रित भएको थियो । प्रदेश सरकारको बजेट कार्यक्रम कार्यान्वयन, निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) र बजेटका सन्दर्भमा सरकार र प्रतिपक्षबिचको सम्झौताबारे छलफलमा बैठकको अधिकांश समय खर्च भएको थियो ।

विपक्षी दलहरु एमाले र राप्रपाले सम्झौता कार्यान्वयन नभएसम्म अन्य विषयमा छलफल नहुने र संसद बैठक चल्न नदिने भनेपछि मुख्यमन्त्री जम्कट्टेलले बजेट कार्यक्रम कार्यान्वयनका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२ बुँदे सुझाव पत्र बैठकमा प्रस्तुत गरेका थिए ।

अख्तियारले आर्थिक वर्षको बिचमा बजेट कार्यक्रममा नयाँ योजना थप गर्ने र रकमान्तर नगर्न सुझाव दिएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठकमा जानकारी गराएपछि विपक्षी दलहरु बिच्किएका थिए । विवाद बढेपछि मुख्यमन्त्री जम्कट्टेल बैठक हलबाट बाहिरिएका थिए ।

सबै विवाद पुसको पहिलो हप्ता मिल्छ : मन्त्री लामा

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले सर्वदलीय बैठकमा विवाद भएका सम्पूर्ण विषय पुसको दोस्रो सातासम्ममा हल हुने बताएका छन् ।

उनका अनुसार सरकारले तत्काल प्रतिपक्षसँग कुनै पनि औपचारिक छलफलको कार्यक्रम नराखेको र अनौपचारिक रुपमा सम्वाद गरेर अघि बढ्ने तयारी गरेको छ । सो विषयमा सबै दल सकारात्मक रहेको उनको भनाइ छ ।

‘अहिले त्यस्तो जटिल अवस्था भएको छैन । गत आइतबार प्रदेशसभाका दलहरु बिच एउटा छलफलको विषय बनाएका थियौँ । उक्त बैठकमा सौहार्द्रपूर्वक सम्पन्न भयो,’ उनले भने, ‘पुुसको पहिलो सातासम्म सबै विषय टुङ्गिन्छ । समस्या समाधन गरेर सरकार र संसदलाई निकास दिन सबै दल सहमत भएका छन् ।’

प्रतिपक्षले पनि समस्याको समाधानका लागि विकल्प दिन तयार रहेको र मुख्यमन्त्री पनि सकारात्मक रहेको उनको भनाइ छ ।

सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएपछि आफूले सरकार र प्रतिपक्ष दललाई मिलाउने प्रयत्न गरेको उनको भनाइ छ । सर्वदलीय बैठक असफल भएपछि उनले सोही साँझ रात्रिभोज आयोजना गर्दै दलहरुसँग सम्बन्ध सुधारको पहल गरेका थिए ।

विपक्षी दलहरुबिच नै द्वन्द : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठकमा विपक्षी दलहरुबिचकै समस्याले विवाद भएको बताए । उनका अनुसार सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलबिच भन्दा पनि विपक्षी दलहरु एमाले र राप्रपाबिच लेखा समितिको नेतृत्व कसले पाउने भन्नेमा विवाद बढेको थियो ।

बैठकमा अन्य विषयहरुमा पनि केही छलफल भएको तर संसदीय समितिको विषय नै मुख्य मुद्दाको रुपमा छलफल भएको उनले प्रस्ट पारे ।

‘सरकार र प्रतिपक्षबिच विवाद छैन । सर्वदलीय बैठक निष्कर्षविहीन हुनुमा प्रतिपक्ष दलहरु बिचको विवाद नै मुख्य विषय हो,’ उनले भने, ‘अधिकांश समय संसदीय समितिको विषयमा छलफल भएको थियो । बाहिर आएजस्तो सरकार र प्रतिपक्षबिच कुनै विवाद भएको छैन । विवाद भएको भए रात्रिभोजमा प्रतिपक्ष आउँदैन थिए होला ।’

प्रमुख प्रतिपक्षलाई नै लेखा समिति दिन सरकार तयार रहेको तर उक्त समितिमा एमाले र राप्रपा दुवैले दाबी गरेपछि विवाद बढेको उनको भनाइ छ ।

सरकारले प्रक्रियागत रुपमा प्रतिपक्ष दलसँग गरेका सबै प्रतिबद्धता पूरा गर्दै सरकारको कामलाई व्यवस्थित बनाउने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

‘पुुसमा सबै विषयहरु मिलाएर संसदीय समितिको विषय टुङ्ग्याउँछौँ । सहमतिको प्रयास जारी छ । सहमति बन्न नसकेको खण्डमा प्रक्रियाबाट संसदीय समितिको नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘यसमा प्रतिपक्ष दल तयार हुनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*