मानवता भन्दा अर्को ठूलो धर्म छैनः प्रधानमन्त्री प्रचण्ड

संवाददाता
३० मंसिर २०८०, शनिबार १९:१५

३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोगापेक्षी सडकमानवहरुको उद्धार र पालपोषण तथा पारिवारीक पुनर्मिलन गर्दै आएको मानवसेवा आश्रमको हेटौँडा ९ स्थित नव निर्मित भवनको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले धर्मका नाममा मठमन्दिर धाएर भेटी र चन्दा दिनुभन्दा मानवसेवा आश्रमद्वारा सञ्चालित मन्दिरहरुमा भेटी र चन्दा दिन आग्रह गरे । उनले मानवताको सेवाभन्दा अर्को ठूलो धर्म नभएको दावी गरे ।
‘मानवता भन्दा ठूलो अर्को धर्म छैन । मानवसेवा आश्रमले सरकारले गर्नुपर्ने कामको नेतृत्व गरेको छ । यसमा हामी सबैको सहयोगको खाँचो छ । त्यसकारण मानवसेवा आश्रमको अभियानलाई सरकारले अभिभावकत्व प्रदान गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य लिएको भन्दै त्यसमा सरकारले सहकार्य गर्ने आश्वासन दिए । त्यसका लागी मानवसेवा आश्रमलाई चाहिने आर्थिक, भौतिक र नैतिक समर्थन दिन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
‘सरकारले गर्नुपर्ने काम एकजना रामजी अधिकारीबाट सुरु भई राष्ट्रव्यापी बनेको छ । मानवताको यो कर्ममा सरकार मानवसेवा आश्रमसँगै रहेको अनुभूति हुनेगरि आवस्यक आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।
उनले आश्रममा आश्रित प्रत्येक व्यक्तिको भरणपोषणका लागी सरकारले प्रतिव्यक्ति १० हजार र मानवसेवा आश्रमका सातवटै प्रदेशमा सहयोगापेक्षी मानवहरुको उद्धार गर्न आवस्यक सवारीसाधन उपलब्ध गराउँने प्रतिवद्धता पनि व्यक्त गरे ।
२०६९ भदौ १३ गते स्थापना भएको मानवसेव आश्रमको केन्द्रीय कार्यलय नवनिर्मित भवन १३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनले हाल केन्द्रीय कार्यलय हेटौँडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेको जानकारी दिए ।
यसैगरी मानवसेवा आश्रमको बागमती प्रदेशमा ५, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ३, मधेश प्रदेशमा ३, कोशीमा २ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एकवटा गरी १९ वटा आश्रमहरु रहेको र यी आश्रमहरुमा कुल एक हजार ७ सय जना सहयोगापेक्षी मानवहरु आश्रित रहेको अध्यक्ष अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*