मन्त्री श्रेष्ठले सार्वजनिक गरे एक वर्षको कार्य प्रगति

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले एक वर्षे अवधिको कार्य प्रगति सार्वजनिक गरेका छन् । गत २०७९ पुस २५ गते गठित मुख्यमन्त्री शालिकाराम जम्मकट्टे नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठ माघ १० गते नियुक्त भएका थिए ।
मन्त्री श्रेष्ठले वहुवर्षीय आयोजना (विपद् गुल्म भवन निर्माण, सुरक्षाकर्मी आवास गोदामघर काभ्रे) को निर्माण अन्तिम चरणमा रहेको बताए । उनले बागमती प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० र विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना, २०८० तयार गरी स्वीकृत भएको पनि मन्त्री श्रेष्ठले बताए । विपद् व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसँग रसुवा र दोलखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको र विपद् व्यवस्थापन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा आगलागी सम्बन्धी सैद्धान्तिक र प्रयोगात्माक कक्षा मार्फत सामुदायिक विद्यालय र स्थानीय वासीहरुसँग सचेतनामूलक कार्यक्रम गरिएको उनको भनाई छ ।
मन्त्री श्रेष्ठका अनुसार अन्तरप्रदेश सहयोग स्वरुप कर्णाली प्रदेशमा प्रभावित भूकम्प पीडितलाई अन्तरप्रदेश सहयोग स्वरुप खोज उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाको लागि १ करोड ५० लाख रुपैयाँ प्रदान गरिएको छ । उनले विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहहरुलाई २ करोड ३५ लाख रुपैयाँ प्रदान गरिएको पनि जानकारी दिए । उनले बागमती प्रदेश अन्तरगतका ७२ गाउँपालिकामा स्थानीय न्यायिक सहजकर्ताको आवेदन, अन्तरवार्ता, छनौट तथा सम्बन्धित पालिकामा सिफारिस गरिएको र नियुक्त ७२ स्थानीय न्यायिक सहजकर्ताहरुलाई अभिमुखीकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम ललितपुरमा सम्पन्न भएको उनले उल्लेख गरे ।
यसबिचमा, २३ जनाको सहभागितामा अनलाईन पत्रकारिता तालिम, रेडियो प्रावधिकहरुलाई तालिम तथा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको, ४४० जना पत्रकारहरुको सामूहिक दुर्घटना बीमा लागु गरिएको, चितवनमा ३१ जना महिला पत्रकारहरुलाई समाचार लेखन तथा सम्पादन तालिम चितवनमा प्रदान गरिएको पनि मन्त्री श्रेष्ठले बताए । विधागत पत्रकारिता, साइबर सुरक्षा जस्ता समय सान्दर्भिक विषयमा पुस्तक प्रकाशन गरिएको र पत्रकार परिचय पत्र नयाँ ७८, अनलाइन पत्रकारिता इजाजत पत्र १८ र एफ.एम. रेडियो २५० वाट क्षमताको इजाजत पत्र प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले सिन्धुली र मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहहरुमा लोपोन्मुख हायु, बनकरिया जाति, अतिसिमान्तकृत थामी जाति र पहरी जाति गरेर कुल ३५७ घरधुरीलाई ६६६ थान न्यानो सिरक वितरण गरिएको बताए ।