राष्ट्रियसभा निर्वाचन : बागमतीमा १५ जनाले गरे मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फको चार सिटका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । बागमती तर्फको चार सिटका लागि चार दलहरुले भाग लिने गरी मनोनयन दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट श्रीकृष्ण प्रसाद अधिकारीले मनाेनयन दर्ता गराएका छन् । अपांग क्लस्टरमा उम्मेदवार बनेका नुवाकोटका अधिकारीले कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रस्ताव र माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट धनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । दलित क्लस्टरमा उम्मेदवार बनेका दोलखाका विश्वकर्माले एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालको प्रस्ताव र हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।
एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । चौलागाईंले महिला क्लस्टरबाट भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रस्ताव र प्रदेशसभा सदस्य उर्मिला सुनुवारको समर्थनमा मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपांग क्लस्टरमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रस्ताव र इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको समर्थनमा मनोनयन दिएका छन् । विश्वकर्माले दलित क्लस्टरमा भमिफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रस्ताव र प्रदेशसभा सदस्य उर्मिला सुनुवारको समर्थनमा उम्मेदवारी दिएका हुन् । पौडेलले अन्य क्लस्टरमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रस्ताव र इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको समर्थनमा उम्मेदवारी दिएका छन् ।
नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले प्रदेशसभा सदस्य गीता काफ्लको प्रस्ताव र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको समर्थनमा मनोनयन दर्ता गराएका छन् । दलिततर्फ भक्तपुरकी संगीता नेपालीले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रस्ताव र प्रदेशसभा सदस्य गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गराएकी छिन् भने महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले प्रदेशसभा सदस्य सृजना सायजुको प्रस्ताव र भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको समर्थनमा मनोनयन दर्ता गरेकी छिन् ।
राष्ट्रियसभा सदस्य पदको बागमतीको ४ सिटका लागि राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।
भट्टले प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिको प्रस्ताव र लक्ष्मी घिमिरेको समर्थनमा मनोनयन गरेका छन् । डल्लाकोटीले प्रदेशसभा सदस्य आशा लामाको प्रस्ताव र राजु विष्टको समर्थनमा मनोनयन दर्ता गराएका छन् भने गुरुङले राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको प्रस्ताव र प्रदेशसभा सदस्य डम्बर तामाङको समर्थनमा उम्मेदवारी दिएका हुन् ।
राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन । दलित क्लस्टरमा उम्मेदवार बनाएका पूर्णबहादुर विश्वकर्माको उमेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन । राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पुराभएको हुनुपर्ने कानुनी प्रावधान अनुसार उनको मनोनयन दर्ता नभएको हो ।