‘एक वडा, एक कृषि कार्यक्रम’ लागू गर्दै बागमती सरकार

बागमती प्रदेश सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिँदै ‘एक वडा एक कृषि कार्यक्रम’अन्तर्गत पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०’ स्वीकृत गरेको जानकारी दिए।
यस्तै, उनले प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८० लाई पनि स्वीकृति प्रदान गरेको जानकारी दिए। यसैगरी आइतबारको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षबाट लागू गर्ने गरी ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि, २०८० समेत स्वीकृत गरेको छ।
मन्त्री श्रेष्ठका अनुसार सार्वजनिक नागरिक प्रदर्शनस्थल निर्माणका लागि २६ लाख रुपैयाँ बजेट अख्तियारी दिने निर्णय भएको छ। जसअनुसार प्रदेशका १३ जिल्लामा एक–एकवटा नागरिक प्रदर्शन स्थल निर्माणका लागि दुई लाख रुपैयाँका दरले खर्च गरिने छ।
मन्त्री श्रेष्ठले प्रदेश सरकारले लोकतन्त्रलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिकको विरोध गर्ने अधिकारलाई व्यवस्थित गर्न प्रदर्शनस्थल निर्माण गर्ने निर्णयअनुसार बजेट विनियोजन गरेको जानकारी दिए।