काँडेतार चलचित्रको हेटौंडामा विशेष प्रदर्शन हुने

संवाददाता
२४ पुष २०८०, मंगलवार १९:१४

भारतसँगको खुला सिमानाका कारण नेपालीले अनेकौ समस्या झेल्न बाध्य रहेकोले काँडेतार लगाउनुपर्ने सन्देश दिने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र काँडेतारको हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन गर्न लागिएको हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो । चलचित्रका निर्देशक नवल खड्काले खुला सीमाका कारण झडपमा परेर मृत्यु भएका परिवार तथा घाइतेको सहयोगार्थ विशेष प्रदर्शन गर्न लागिएको जानकारी दिए । देशको माटो र नेपाली मान्छे जोगाउनुपर्छ भन्ने भाव चलचित्रमा रहेको जाकनारी दिँदै निर्देशक खड्काले खुला सीमाका कारण भोग्नुपरेको समस्या चलचित्रमा प्रश्तुत गरिएको बताए ।

‘यो राष्ट्रभक्ती र देशभक्ती चलचित्र हो । देश जोगाउने अभियान देशैभर चलोस भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘६० भन्दा बढी स्थानमा विशेष प्रदर्शन गरिसकेका छौं । आफूलाई नेपाली हुँ भन्ने सम्झिनेले काँडेतार चलचित्र छुटाउनु हुँदैन ।’ खुला सिमाका कारण अहिले पनि नेपालमा इन्डियाको ठाडो हस्तक्षेप रहेको उनको भनाई थियो । काँडेतारमा आम युवाको समस्यालाई समेत प्रश्तुत गरिएको चलचित्रका कलाकार प्रशान्त यादवले जानकारी दिए । विशेष प्रदर्शन पुस २७ गते नारायणी मलस्थित एनएस सिनेमा हलमा दिउँसो साढे २ बजेबाट हुने जानकारी दिइएको छ ।

चलचित्रमा सत्यकला राई, मकिको राई र अञ्जु केसी निर्माता रहेका छन् । काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्तकुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*