मनहरीमा तरुणको विरोध सभा, माफी नमागे मानहानीको मुद्दा हाल्ने

संवाददाता
१४ फाल्गुन २०८०, सोमबार ०६:१७

१४ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा कृयाशील ५ राजनीतिक दलले गैरकानुनी व्यवहार देखाएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले रजैया स्थित गाउँपालिका अगाडी आइतबार विरोध कार्यक्रमको आयोजना गरेको छ ।
केहि दिन अधि मनहरीमा पुलको ठेक्काको बिषयलाई लिएर काम नगरेको भन्दै प्रदेशसभा सांसद् एवं कांग्रेस प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले विरोध प्रर्दशन गरेपछि असन्तुष्टि जनाउँदै तरुण दल विरोधमा उत्रिएको हो ।
मनहरीका ५ राजनीतिक दलले आफ्ना नेताको चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै २४ घण्टाभित्र माफी नमागे साइबर क्राइम र मानहानीको मुद्दा दर्ता गर्ने चेतावनी दिएको हो ।
तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले आफ्ना नेताको चरित्र हत्या गर्नेहरुले २४ घण्टाभित्र माफी माग्न अनुरोध गर्दै माफी नमागे साइबर क्राइम र मानहानीको मुद्दा दर्ता गर्ने चेतावनी दिए ।
२०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड महामारी र अहिलेको आर्थिक मन्दीका कारण निर्माण व्यवसायी थला परेको र राज्यले भुक्तानी एवम् सुरक्षा दिन नसक्दा अवस्था दयनीय रहेको बताउँदै पुल निर्माणको ठेक्का पाएको कम्पनीका निर्माण व्यवसायीसँग थर मिलेकै भरमा ईन्द्रबहादुर बानियाँको चरित्र हत्या गर्नु गैर राजनीतिक कदम भएको धारणा राखे ।
विरोध प्रर्दशनको नाममा सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मानहानी गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे । विरोधमा उत्रिएको एमालेबाट निर्वाचित तत्कालिन उपाध्यक्ष मनिला विष्टको नाममा ९ लाख रुपैंयाँ पेश्की रहेको दावी गर्दै उनले बक्यौता २४ घण्टाभित्र भुक्तानी गर्न समेत चेतावनी दिए ।
कार्यक्रममा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट अताल्लिएर ५ राजनीतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गरेको धारणा राखेका थिए ।
खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर राखेर सार्वजनिक स्थानमा व्यानर राख्ने अधिकार कसैलाई नभएको उनको भनाई थियो । विगतमा एमालेले मनहरी गाउँपालिका सञ्चालन गर्दा देशकै कमजोर पालिकाको रुपमा रहेको तथा अध्यक्ष र उपाध्यक्षको विवादले विकासबाट गाउँपालिकाबासी बञ्चित भएको स्मरण गराए ।
पुलको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा निर्माण व्यवसायीको मनोबल गिराउन र जस लिने उद्देश्यले विरोध गर्नुको कुनै तुक नभएको सभापति बर्तौलाको भनाई थियो ।
तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, जिल्ला सदस्य नुरोज पौडेल लगायतका नेताहरुका आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*