मनहरी घटनामा कांग्रेस मकवानपुरको ध्यानाकर्षण

संवाददाता
१४ फाल्गुन २०८०, सोमबार ०६:२२

१४ फागुन, हेटौँडा । मनहरीमा ५ राजनीतिक दलले नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको तस्विरसहित प्रदर्शन गरेकोप्रति कांग्रेस मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस मकवानपुर प्रवक्ता अर्जनुप्रसाद चौलागाईंले विज्ञप्ति निकाल्दै मनहरी गाउँपालिकामा आफूलाई राजनीतिक दलका नेता भन्ने व्यक्तिहरुले ५ राजनीतिक दलहरुको नाममा गरेको कार्य गलत भएको बताएको हो ।
कांग्रेस सभापति बानियाँको व्यक्तिगत, व्यवहारिक एवम् कानूनी रुपमा संलग्नता नरहेको तथा मनहरी गाउँपालिकाले आव्हान गरेको सार्वजनिक सूचना बमोजिम हिराचन÷बानियाँ जेभी कम्पनीले प्रतिस्पर्धा सहित ४ वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको काममा ढिलासुस्ती भएको भन्दै सभापतिलाई अपमानजनक शब्द प्रयोग गरी तस्विरसहितको ब्यानर प्रदर्शन गर्ने गैरकानूनी, गैरराजनीतिक एवं अलोकतान्त्रिक व्यवहार भएको कांग्रेसको ठहर छ ।
निकुञ्ज क्षेत्रको प्राविधिक र व्यवहारिक विभिन्न कठिनाई झेल्दै मसिने खोला पुल ८६ प्रतिशत, ट्वाङग्रा खोला पुल ९६ प्रतिशत, च्यापलखोला पुल ६९ प्रतिशत र ठाडोखोला पुल ७५ प्रतिशत निर्माण कार्य पूरा भैसकेको अवस्थामा अनावश्यक राजनीतिक गर्न खोजिएको कांग्रेस मकवानपुरको बुझाई रहेको उल्लेख छ ।
‘बागमती प्रदेश सभापति माथि राजनीतिक प्रतिशोध साँध्ने, चरित्र हत्या एवम् मानहानी गर्ने र जनतामा अलोकतान्त्रिक ढंगबाट भ्रम सृजना गर्ने गैरराजनीतिक चरित्रप्रति नेपाली कांग्रेस मकवानपुर गम्भीर आपत्ती प्रकट गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*