हेटौंडामा एकै दिन तीन विद्यालय बालमैत्री घोषणा हुँदै

संवाददाता
२१ फाल्गुन २०८०, सोमबार ०७:३३

२१ फागुन, हेटौँडा । हेटौंडामा एकै दिन तीन विद्यालय बालमैत्री घोषणा हुँदैछन् । एउटा संस्थागत र दुईवटा सामाुदायिक विद्यालयल मंगलबार बालमैत्री घोषणा हुँदैछन् । आइतबार पत्रकार सम्मेलन गरी हेटौडा ८ कमानेमा रहेको चन्द्रोदय मावि र हेटौंडा १६ मा रहेको जनप्रिय प्राविधिक माविले यहि फागुन २२ गते एक कार्यक्रमका बीच बालमैत्री विद्यालय घोषणा हुन लागेको जानकारी दिएका हुन् ।
यसअघि शुक्रबार पत्रकार सम्मेलन गरी हेटौंडा २ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले पनि यहि २२ गते विद्यालय बालमैत्री घोषणा हुन लागेको जानकारी दिएको थियो । तीन वटै विद्यालयले उपमहानगरपालिकाले तोकेको ११ वटा सूचक अन्तरगतका २६ वटै कार्य पार गरेकोले बालमैत्री विद्यालय घोषणाको प्रक्रिया पुगेको बताएका छन् ।
पत्रकार सम्मेलनमा चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकालले उपमहानगरपालिका, स्थानिय सरकार र राष्ट्रिय सहजकर्ताको विभिन्न समयको अनुगमन पश्चात आफ्नो विद्यालय बालमैत्री घोषणाको चरणमा पुगेको बताउनुभयो ।
नगर शिक्षा विकास महाशाखाबाट फागुन २ गते नै बालमैत्री विद्यालय घोषणा मापदण्ड पूरा गरेको प्रमाणपत्र प्राप्त भएको भएपनि विद्यालयको स्थापना दिवसको दिन पारेर बालमैत्री विद्यालय घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो । विद्यालयले २०७९ असार ३ गतेदेखि बालमैत्री विद्यालय बनाउन बालमैत्री सूचकहरुलाई कार्यान्वयनमा ल्याएको प्रधानाध्यापक ढकालको भनाई छ ।
यस्तै, हेटौंडा १६ मा रहेको जनप्रिय प्राविधिक मावि पनि २२ गते बालमैत्री विद्यालय घोषणा हुँदैछ । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले घोषणा मात्रै नभएर दीर्घकालिन रुपमा कार्यान्वयनमा ल्याउन समेत विद्यालयले योजना बनाएको बताउनुभयो ।
बालबालिकाको सर्वाङ्गिण विकास गराउन बाल अधिकारका क्षेत्रहरुलाई अक्षरशः पालना गर्नुपर्ने बताउँदै प्रधानाध्यापक चौलागाईले विद्यालयले बालमैत्री विद्यालयका सबै सूचक पूरा गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्षको फागुन ६ गते बाल क्लब गठनसंगै विद्यालयले बालमैत्री अभियानको थालनी गरेको उहाँले बताउनुभयो । तीन वटै विद्यालयलाई हेटौंडा उपमहानगपालिकाकी मेयर मिना लामाले बालमैत्री घोषणा गर्नुहुने जानकारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*