बागमतीमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको संख्या बढ्दो

संवाददाता
४ चैत्र २०८०, आईतवार ०८:३१

बागमती प्रदेशमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो रहेको छ । विगतको तुलनामा गत आर्थिक वर्षमा उक्त दर केही घटे पनि समग्र रूपमा वैदेशिक रोजगारीमा गएकाहरूको मृत्युदर घट्न सकेको छैन । बागमती प्रदेशमा वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष २०७९-०८० मा १२५ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । जुन आर्थिक वर्ष २०७५-०७६ को तुलनामा १०० अंकले बढेको हो । आर्थिक वर्ष २०७५-०७६ मा वैदेशिक रोजगारीका क्रममा बागमती प्रदेशका २५ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

आर्थिक वर्ष २०७६-०७७ मा वैदेशिक रोजगारीका क्रममा प्रदेशका ९५ जनाको मृत्यु भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७-०७८ र २०७८-०७९ मा १६९-१६९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७५-०७६ मा प्रदेशमा विभिन्न घटनामा परेर ५३ जना अङ्गभङ्ग भएका छन् भने आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ मा २२-२२ जना अङ्गभङ्ग भएका छन् । आर्थिक वर्ष २०७८-०७९ मा ३२ जना र २०७९-०८० मा ३८ जना अङ्गभङ्ग भएको तथ्याङ्क रहेको छ ।

बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५-०६६ देखि २०८०-०८१ को अवधिमा बागमती प्रदेशको मकवानपुरमा रोजगारीको क्रममा पुगेका १९३ जनाको मृत्यु भएको छ भने आर्थिक वर्ष २०७०-०७१  देखि २०८०-०८१ सम्म ६२ जना बिरामी र अङ्गभङ्ग भएका छन् ।

चालु आर्थिक वर्षको साउन यता मात्र मकवानपुरमा ११८ वटा वैदेशिक रोजगारीमा गएकाहरूको समस्याहरू देखा परेको छ । उक्त संख्याको उजुरी आप्रवासी स्रोत केन्द्र मकवानपुरमा दर्ता भएको छ । दर्ता भएका मध्ये ४८ वटा समस्या समाधान भएका छन् भने ७० वटा प्रक्रियामा रहेका छन् । केन्द्रले वैदेशिक वोर्ड, श्रम रोजगार मन्त्रालय र सम्बन्धित देशको दूतावाससँगको समन्वयमा समस्या समाधान गर्ने गरेको छ ।

केन्द्रको पहलमा विभिन्न समस्यामा परेकाहरूको उद्धार तथा राहत र वैदेशिक रोजगारीमा ठगिएकाहरूको क्षतिपूर्ति बापत मकवानपुरका ९९ लाख ३१ हजार रुपैयाँ फिर्ता गराएको छ । जसमा ठगी बापतको ३० लाख ७६ हजार रुपैयाँ, मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति बापत ५ लाख ५० हजार रुपैयाँ, अङ्गभङ्ग तथा बिरामी भएका व्यक्तिका लागि १२ लाख ५५ हजार, उद्धारका लागि एक लाख रुपैयाँ प्राप्त भएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत विभिन्न चेतनामूलक क्रियाकलाप तथा कार्यक्रम सांलग्न गरिए पनि वैदेशिक रोजगारीको मोहसँगै असुरक्षा पनि बढेको छ । सामी कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका हेल्भिटास नेपालको कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिइन् ।

उनका अनुसार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित गराउने लक्ष्य रहेको छ ।

पछिल्लो समय श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको छ । मुख्य गरी वैदेशिक रोजगारीका लागि बागमती प्रदेशबाट खाडी मुलुकहरू (मलेसिया, कतार, दुबई, कुवेत, दक्षिण कोरिया, रोमानीया, क्रोसिया, माल्टा, साइप्रस, र मालदिप्स) जाने गरेका छन् । वैदेशिक रोजगारको लागि खुल्ला गरिएका देशहरु १११ वटा बाहेक हाल रोक्का गरिएका देशहरु अफ्गानिस्तान, लिविया र इराकमा पनि नागरिकहरू पुग्ने गरेको उनले बताइन् ।

बागमतीका १५ प्रतिशतले लिए श्रम स्वीकृति

बागमती प्रदेशका १५ प्रतिशत नागरिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-०८० मा मात्र बागमती प्रदेशबाट कुल जनसंख्याको १५.१६ प्रतिशतले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

बागमती प्रदेशका १ लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा २६ हजार १७० जना (२२.३८ प्रतिशत महिला रहेका छन् भने ९० हजार ७६२ जना (७६.६२ प्रतिशत) पुरुष रहेका छन् ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेहरूमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनका १५ हजार ८२३ जना वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् भने मकवानपुरका १३ हजार १०१, धादिङका १२ हजार ५४०, सिन्धुलीका १२ हजार ३, काठमाडौँका ११ हजार ९४८ श्रम स्वीकृति लिएका छन् ।

सिन्धुपाल्चोकका १० हजार ७६५, नुवाकोटका ९ हजार ९६६, काभ्रेका ७ हजार ६४८, रामेछापका ७ हजार ५६२, दोलखाका ६ हजार ५७१, ललितपुरका ३ हजार ८९२, भक्तपुरका ३ हजार ६८५ र रसुवाका १ हजार ३९२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*