बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने बागमती कांग्रेसको चेतावनी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षैको बजेट माथिको छलफल गर्न बिहीबार दिउँसो बसको प्रदेशसभाको बैठकमा बोल्दै नेता लामाले बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनः लेखनको माग गरेका हुन् ।
नेता लामाले सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको १ अर्ब बढी बजेट राखिएको बताए । बजेटमा आथिर्क अराजकता देखिएको उनले बताए । वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न नसकिने उनको भनाई छ ।
‘बजेट कार्यक्रमको पीडीएफ फाइल र कार्यक्रम पुस्तिका नै परिवर्तन गरिएको छ । वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको छ । कार्यक्रम पुस्तिकामा ६६ अर्बको कार्यक्रम कसरी आयो ? सरकारले सांसदको आँखामा छारो हाल्ने काम गरिरहेको छ ।’
उनले भने, ‘सरकार छलकपट गरेर जनता झुक्क्याउन केन्द्रित भएको छ । अर्थ मन्त्रालय नियमन गर्ने हो कि विकासे मन्त्रालय ? अर्थ विविधमा दोहोरो बजेट राखिएको छ ।’
सरकारले संसद्लाई नै असक्षम र असफल बनाउने काम गरिरहेको उनको भनाई छ । आर्थिक अनुशासन र सुशासनको विषयलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको उनले बताए । बजेटमा आय र व्ययको हिसाब समेत मिलाउन नसकेको नेता लामाले बताए ।
उनका अनुसार नीति तथा कार्यक्रमको तारतम्य र बजेटको प्राथमिकता नै निर्धारण हुन सकेको छैन । बजेटले आर्थिक सामाजिक भौगोलिक विषयलाई सन्तुलित गर्न नसकेको उनको भनाई छ ।
‘प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत अनुमान गरिएकोमा १.८ प्रतिशत मात्र रहेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ । प्रदेश सरकारको कार्यक्रम प्रभावकारी नहुँदा आर्थिक वृद्धि दर समेत कम भएको हो’ उनले भने ।
सरकारले ल्याएको अस्पष्ट बजेटमा १ लाख र ५ लाखका योजना समावेश गरेर पैसा छर्ने काम गरेको उनले बताए । साना÷साना योजनामा बजेट हाल्दा कार्यान्वयन र नियमनमा समस्या हुने उनको भनाई छ । सो विषयका सरकारले ध्यान दिन नसकेको उनले बताए ।