बागमतीमा संविधान दिवसमा दीप प्रज्वलनदेखि स्वास्थ्य परीक्षणका कार्यक्रम

संवाददाता
१९ भाद्र २०८१, बुधबार १७:२४

बागमती प्रदेशमा सरकारले ३ दिन संविधान दिवस मनाउने भएको छ । विभिन्न कार्यक्रम आयोजना गरी प्रदेश सरकारले ३ दिनसम्म दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षमा बसेको बैठकले दिवस मनाउन ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री लामाको संयोजकत्वमा रहेको उक्त समिति मार्फत दिवसको अवसरमा विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
उनका अनुसार समितिमा संघ तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरू रहेका छन् । सो समितिका सदस्यहरूको संयोजनमा विभिन्न कायक्रमहरु सञ्चालन हुने उनले बताए ।
दिवसको अवसरमा असोज १ गते सामाजिक विकास मन्त्रालयले ‘संविधान कार्यान्वयनका नौ वर्ष: उपलब्धि र चुनौती’ विषयक प्रदेश राजधानी रहेको जिल्लाका क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने छ भने वन तथा वातावरण मन्त्रालयले उपयुक्त स्थानमा वृक्षारोपण, युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रसेवक र नागरिकको सहभागिता हुनेगरी खेलकुद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै दिवसको अवसरमा २०८० को एसईई परीक्षामा सामुदायिक विद्यालयबाट प्रदेशस्तरमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना छात्रा र एक जना छात्रलाई नगद पुरस्कार वितरण गर्ने, स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य शिविर सञ्चालन, अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम अंग प्रदान र रक्तदान कार्यक्रम, सरसफाइ र असोज ३ गते विशेष समारोहसहित दिवस मनाउने निर्णय गरिएको छ ।

दिवसको अवसरमा सरकारी कार्यालय परिसर, प्रदेश राजधानीको बुद्ध चोक र बसपार्कमा तथा सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउने, दीप प्रज्ज्वलन, गर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*