एक्सपर्ट एजुकेसन चितवनलाई पठन संस्कार अभियन्ता सम्मान

संवाददाता
२३ भाद्र २०८१, आईतवार १८:३८

शैक्षिक परामर्शदाता कम्पनी एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन पठन संस्कार अभियन्ताको रूपमा सम्मानित भएको छ ।

नारायणगढको सम्पूर्ण किताबले आफ्नो वार्षिकोत्सवको अवसरमा एक्सपर्टलाई सम्मान गरेको हो । एक्सपर्टसँगै नारायणगढ जेसीजलाई पनि उक्त सम्मान दिइएको छ ।

संस्थामार्फत गरिने सबै कार्यक्रममा उपहार स्वरूप किताब दिने प्रचलनलाई प्रवर्धन गरी पठन संस्कारको विकासमा योगदान गरेको भन्दै ती दुई संस्थालाई सम्मान गरिएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेसीजका अध्यक्ष राजेन्द्र भट्टराईलाई कदरपत्र प्रदान गरे ।

‘उपहारमा अरू सामान दिनुभन्दा किताब दिनु कैयौँ गुणा राम्रो देखिन्छ’, सम्मान ग्रहणपछि अधिकारीले भने– ‘किताबको सङ्ग्रह अरू सामानको सङ्ग्रहभन्दा निकै उपयोगी हुन्छ ।’
कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अतिथिहरूले पनि किताब उपहार दिने प्रचलन र यो प्रचलनलाई सम्मान गर्ने सम्पूर्णको कार्य दुवैको खुलेर प्रशंसा गरे ।

२०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले विगतमा जस्तै यसपालि पनि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । यसपालि भरतपुर–२९, जुगेडीस्थित कविलास माविमा कक्षा–७ मा अध्ययनरत सीमा गुरुङलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । सम्पूर्णले हरेक वर्ष भदौ २३ मा एक छात्रालाई विविध शैक्षिक सामग्री प्रदान गर्छ ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले छात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरे । झोला, कापी, कलम, ज्यामिती बक्स, क्याल्कुलेटर, विभिन्न पाठ्यपुस्तक, कपडा, साबुन, सेम्पु, नेलकटर, मञ्जन–ब्रस, सेनिटरी प्याडलगायतका सामग्री दिइएका छन् ।

विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले पिछडिएका र विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कविलासकी छात्रालाई दिएको शैक्षिक सामग्री सदुपयोग हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा धनराज गिरी, प्रेम रिमाल, रजनी मास्केलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*