जलन उपचार केन्द्र स्थापना गर्न रोटरी भेट्रान्स फुटबल प्रतियोगिता हुने

संवाददाता
२३ भाद्र २०८१, आईतवार १८:४४

जलन उपचार केन्द्र स्थापनाका लागि रोटरी क्लबले भेट्रान्स फुटबल प्रतियोगिता गर्ने भएको छ । रोटरी क्लब अफ मकवानपुरको आयोजनामा भोलि (सोमबार)देखि प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबाट बचेको रकमले हेटौंडामा जलन सम्बन्धी उपचार केन्द्र स्थापना गरिने आयोजकले जनाएको छ । तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा १५ टिमको सहभागिता रहने छ ।  प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनमा साबिक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडाको खेल हुनेछ ।
प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लब, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगन्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगन्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लब झापा, एस.एन.के.सी काठमाडौँ, फ्रिडम फाइटर काठमाडौँ, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेको छ ।

४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइडको हुनेछ । यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई निरन्तरता दिन लागेको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले बताए ।

‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाबाट खेलको उद्घाटन हुनेछ’, उनले भने ।

शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा कार्य गर्दै आएको रोटरीले खेलकुदको क्षेत्रमा समेत काम गरिरहेको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिँदै जाने लक्ष्य रहेको खेल संयोजक मोहन ढकालले बताए ।

रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हुन लागेको प्रतियोगितामा पिप्ले युवा क्लब सहआयोजक र रोटर्याक्ट क्लब अफ मकवानपुरको सहकार्य रहनेछ । प्रतियोगीताका लागि करिब १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकको भनाई छ । पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लब चितवनले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*