‘कुलेखानी–सिस्नेरी–काठमाडौँ’ सडकमा प्रदेश सरकार र स्थानीय तह आमनेसामने
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकमा बागमती प्रदेश सरकार र स्थानीय तह आमनेसामने भएका छन् । प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडकमा स्थानीय तहले आफ्ना निर्णय लागू गर्न खोज्दा समस्या देखिएको हो ।
‘हामीले लगानी गरेर बनाइरहेको बाटोको अवस्था स्थानीय तहलाई कसरी थाहा हुन्छ । कुन काम कहिले गर्ने, कामको प्रगति के छ ? भन्ने बुझ्न हाम्रो प्राविधिक नै खटिएको छ । प्रदेश सरकारसँग समन्वयन नै नगरी कसरी सडक बन्द हुन्छ ? सडक बन्द छैन ।’ उनले भने, ‘दक्षिणकाली नगरपालिकाले भने झैँ सडकमा पिच गर्ने अवस्था नै छैन । वर्षा भइरहेको बेलमा कसरी पिच गर्न सकिन्छ । ठेक्का लगाउने निकाय नै सो बाटोमा निरन्तर निगरानीमा छ । ठेकेदारलाई हामीले निरन्तर खबरदारी गरेका छौँ । सडक पिच गर्ने विषय ठेक्का लगाउने निकायलाई थाहा हुन्छ की स्थानीय तहलाई ? प्रदेशको सडक बन्द गर्ने अधिकार स्थानीयलाई हुन्न । हामीले भनिसकेका छौँ ।’
उक्त सडक बन्द गरेको खबर पाए लगत्तै प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना हेटौँडाका प्रमुख देवनारायण यादव फिल्डमा पुगे । स्थानीय तहसँग समन्वय गर्न पुगेका उनले मेयर बस्नेत भेट्न पाएनन् । वडा अध्यक्षसँग छलफल गरेर उनी काठमाडौँ पुगेका छन् । सडक बन्द गर्ने अवस्था नरहेको र निर्माण कार्य सञ्चालनको विषयमा सामान्य छलफल भएको उनले बताए ।
उनका अनुसार स्थानीय तहको योजना अनुसार काठमाडौँ तर्फको ४ किलोमिटर सडकमा पिच गर्ने गरी सडक बन्द भनिएको हो । तर, सो सडकमा अहिलेको मौसममा पिच गर्ने अवस्था नरहेको उनले बताए । सो सँगै मकवानपुर र काठमाडौँको सिमानाको २ किलोमिटर सडक पनि स्तरोन्नति गर्नुपर्ने भएकाले तत्काल सडक बन्दको योजना नरहेको उनले बताए । मौसम अनुकूल भएपछि सडक बन्द नगरी काम गर्ने योजना रहेको उनको भनाई छ ।
प्रदेश सरकारले हालै उक्त सडकलाई प्रादेशिक सडक गुरु योजनामा समावेश गरी ‘राजधानी मार्ग’ नामकरण समेत गरेको छ । प्रदेश सरकारले सो सडकलाई विगत ३ वर्ष देखि बजेट विनियोजन गरी स्तरोन्नती सहित मर्मत कार्य गर्दै आएको छ । सो सडक खण्ड अन्तर्गत मकवानपुर तर्फ इन्द्रसरोवर गाउँपालिका तर्फ १२ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ भने काठमाडौँ तर्फको दक्षिणकाली नगरपालिका तर्फ ७.७ किलोमिटर मात्र सडक निर्माण गर्न बाँकी रहेको छ ।
दक्षिणकाली तर्फ ४ किलोमिटर सडकको पूर्वाधार निर्माणको सबै काम सकेर कालोपत्रे गर्न मात्र बाँकी रहेको छ भने मकवानपुरको सिमाना तर्फको उकालो बाटोमा पहिरो हटाउने, बेस निर्माण गर्ने लगायतको काम बाँकी रहेको छ । आगामी कात्तिकमा निर्माण कार्य सम्पन्न गरी सक्नु पर्ने उक्त सडक निर्माणका लागि प्रदेश सरकारले ३१ करोड रुपैयाँमा रौताराम सागर जेभीसंग ठेक्का सम्झौता गरेको थियो । उक्त सडक निर्माण कार्य २ वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीका कारण २ पटक म्याद थप भइसकेको छ ।