राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान गठबन्धन : मुख्यमन्त्री लामा

संवाददाता
१८ माघ २०८१, शुक्रबार १९:१६

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणमा दुई ठुला दल मिलेर सरकार गठन भएको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको दाबी गरे ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताको आधारमा काम गरिरहेको बताए ।

‘विपतबाट प्रभावित नागरिकका लागि राहत वितरण गरिएको छ भने विपत् प्रभावित क्षेत्रको पुनर्निर्माणको काममा तीव्रता दिइएको छ,’ उनले भने, ‘प्रदेश राजधानी र संघीय राजधानीसहित प्रदेशअन्तर्गतको सडक पूर्वाधार पुनर्निर्माणमा काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनाेट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।’

प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री लामाले बताए । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश किताबखानालाई सक्रियतापूर्वक कर्मचारीहरूको तथ्यांक अध्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*