सञ्चालनमा आयो स्थानीय सरकारको लगानीमा बनेको नेपालकै पहिलो जिपलाइन

स्थानीय सरकारको लगानीमा बनेको नेपालकै पहिलो जिपलाइन सञ्चालनमा आएको छ। मकवानपुरको विकट गाउँपालिका कैलाशले पर्यटन प्रवर्द्धनका लागि आफ्नै लगानीमा निर्माण गरेको जिपलाइन नयाँ वर्षको अवसर पारेर सोमबारबाट सञ्चालनमा ल्याइएको हो। विकट तर अति नै सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकाको वडा नम्बर २ को वैकुण्ठ र कैलाश दुईवटा डाँडालाई जोड्ने गरी निर्माण गरिएको साहसिक खेल ‘वैकुण्ठ–कैलाश जिपलाइन’ औपचारिक रूपमा सोमबारबाट सञ्चालनमा ल्याइएको हो। जिपलाइनको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल र वडाध्यक्ष राजेन्द्र घिसिङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
एक हजार दुई सय मिटर लामो उक्त जिपलाइन गाउँपालिकाले आफ्नै ८८ लाख ५६ हजार सात सय ६१ रुपैयाँमा निर्माण गरिएको हो। जिपलाइनको उद्घाटन गर्दै पालिकाका अध्यक्ष मुक्तानले कैलाश गाउँपालिकाले साहसिक पर्यटनको क्षेत्रमा नयाँ आयाम सुरु गरेको बताए । उनले जिपलाइनले कैलाश गाउँपालिकाको वडा नम्बर २ मा रहेका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
‘जिपलाइन आफैँमा एउटा साहसिक पर्यटनको पूर्वाधार हो । जिपलाइनको मज्जा लिने छुट्टै खालका पर्यटकहरू हुन्छन्। जसलाई कैलाशको जिपलाइन आकर्षण बन्न सक्छ । साथसाथै जिपलाइनले यहाँ रहेका पर्यटनका अरू पूर्वाधारलाई पनि सहयोग पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौँ,’ उनले भने । गाउँपालिकाले यहाँका दुई प्रमुख धार्मिक एवं पर्यटकयीय स्थलहरू कैलाश र वैकुण्ठलाई जोड्ने गरी जिपलाइन निर्माण गरेको हो।
जिपलाइन निर्माणपछि यहाँ घुम्न आउने पर्यटकले दुई फरक स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थल घुम्न सहजता हुनुका साथै साहासिक पर्यटनको मजा लिन सक्ने अध्यक्ष मोक्तानले बताए । साहसिक पर्यटन गर्न रुचाउने पर्यटकहरूका लागि जिपलाइनले थप आकर्षित गर्ने गाउँपालिकाका अध्यक्ष मुक्तानको विश्वास छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले पालिकासँग पर्याप्त आन्तरिक आयस्रोत नभए पनि इच्छाशक्तिका कारण नै जिपलाइन निर्माण गर्न सम्भव भएको बताए। उनले जिपलाइनले पालिकाको आर्थिक आम्दानी बढाउन र पहिचान दिलाउन टेवा पुर्याउने दाबी गरे ।
यता जिपलाइन सञ्चालन भएको वडाका वडाध्यक्ष राजेन्द्र घिसिङले नयाँ वर्षको अवसर पारेर जिपलाइन सञ्चालनमा ल्याइए पनि टिकटघर निर्माण, सुरक्षाकर्मी, कर्मचारी व्यवस्थापनलगायतका केही काम बाँकी रहेको जानकारी दिए । उनले ती विषयलाई चाँडोभन्दा चाँडो टुंग्याएर अघि बढ्ने योजना रहेको बताए । वडाध्यक्ष घिसिङले जिपलाइन रहेको वैकुण्ठ र कैलाशको पर्यटन प्रवर्द्धनका लागि पालिकाले होमस्टे सञ्चालनको तयारी गरिरहेको पनि जानकारी दिए । उनका अनुसार पालिकाले यहाँका स्थानीयलाई होमस्ट सञ्चालनका तालिमका साथै होमस्टे सञ्चालन भइरहेका स्थानहरूको अवलोकन भ्रमणसमेत गराएको छ ।
धादिङको रोराङ बेनीघाट गाउँपालिकासँग सिमाना जोडिएको वैकुण्ठ कैलाश क्षेत्रमा पुग्न मकवानपुरको थाहानगर र मनहरी बजारबाट करिब ३३ किलोमिटरको यात्रा तय गर्नुपर्छ । साहसिक पर्यटन जिपलाइनसँगै वैकुण्ठमा घुम्नका लागि डाँफे मुनाल पार्क, डम्फुपार्क, विष्णुकुण्डको निर्माण गरिएको छ भने करिब चार सय वर्षअघिको सतीघाट संरक्षण गरिएको छ ।